टोकियो – तीव्र गतिको रेलवे सेवामा चीनले अर्को ठूलो उपलब्धि हासिल गरेको छ । २०२२ बेइजिङ विन्टर ओलम्पिकको तयारी अन्तर्गत चीनले ३ सय ५० किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्ने ड्राइभर विनाको हाइ-स्पिड अटोमेटिक रेल सञ्चालनमा ल्याएको छ ।
यस रेलवे सेवाले ओलम्पिक आयोजना गरिने सहर जाङजिआकोउलाई राजधानी बेइजिङसंग जोड्नेछ ।
यसअघि यी दुई सहरबीच यात्रा गर्नुपर्दा तीन घण्टा लाग्थ्यो तर यो रेल सेवा मार्फत अब ४७ मिनेटमै सो दुरी पार गर्न सकिने बताइएको छ ।
चीनको यस फुक्सिङ सिरिज बिना कुनै मानव सञ्चालक चल्न सक्ने हुनाले पनि यसबारे व्यापक चर्चा हुँदै आएको छ ।
यस विषयमा यो विश्वकै पहिलो ‘स्मार्ट हाइ स्पिड बुलेट ट्रेन’ बन्न सफल भएको छ । यसलाई निर्माण गर्न चीनलाई चार वर्ष लागेको थियो । जिन-जिआङ हाइ-स्पिड रेल-वेले मुख्यगरी बेइजिङ, यानकिङ र जाङजिअकोउलाई सिधा कनेक्ट गर्दछ । यी तिनैवटा सहरमा आगामी विन्टर ओलम्पिक हुनेछ । यस रुटमा १० वटा स्टेसनमा रेल रोकिनेछ ।
यसलाई स्मार्ट रेल भनिनुका पछाडि भने थुप्रै कारणहरु देखाइएको छ । जस्तै, प्रत्येक क्यारियजमा फाइभ-जी सिग्नल उपलब्ध छ भने इन्टेलिजेन्ट लाइटिङ पनि जडान गरिएको छ । त्यस्तै सञ्चालनका समयमा कुनै पनि असाधारण अवस्थाबारे पत्ता लगाउन र सबै डाटाहरु संकलन गर्न २,७१८ सेन्सर पनि राखिएको छ । यसैगरी सबै सिटमा आफ्नै टचस्त्रिन कन्ट्रोल प्यानल र वायरलेस चार्जको सुविधा रहेको छ । यो रेलले आफै इञ्जिन सुरु गर्ने, गति सीमित गर्ने र अटोमेटिक रोकिने भए पनि एकजना निरीक्षक ड्राइभर सँधैं सवार हुने बताइएको छ ।
हरेक स्टेसनमा भने रोबोट, फेसियल रिकग्निसन प्रणाली लगायतका प्रविधिले यात्रुहरुलाई दिशा देखाउने, लगेज व्यवस्थापन गर्न र विना पेपर चेक-इन गर्नमा मद्दत गर्नेछन् । सो रेलको इन्टेरियर डिजाइन खेलाडी र संचारकर्मीहरुलाई ध्यानमा राखेर तयार गरिएको छ ।
आज चीन विश्वकै सबैभन्दा ठूलो हाइ-स्पिड रेल नेटवर्क, ३५ हजार किलोमिटरका रेलमार्गको घर मानिन्छ भने व्यवसायिक रुपमा सबैभन्दा तिब्र गतिको रेल पनि चीनमै सञ्चालन भइरहेको छ ।***