काठमाडाैं – नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको छ ।
नेपाल टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।
व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।