काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२० वरीयतामा नेपालका खेलाडीको स्थान खस्किएको छ । हालसालै आईसीसीले सार्वजनिक गरेको टप १०० को सुचीमा नेपालका २ खेलाडी सन्दीप लामिछाने र सोमपाल कामी मात्र समावेश भएका हुन् ।
टप–१०० मा अटाएको भएपनि गएको महिना ६४ औं स्थानको वरीयतामा रहेका सन्दीप ४१४ रेटिङ प्वाइन्टका साथ यसपटक ७८ औं स्थानमा थिए । यस्तै सोमपाल कामी भने पहिलो पटक टी २० को बलिङ तर्फको वरीयतामा परेका छन् ।
उनी ३७५ रेटिङ प्वाइन्टका साथ ९५ औं स्थानमा रहेका छन् । अलराउण्डरमा भने उनी यसअघि पनि परेका थिए । यसअघि वरीयतामा परेका नेपाली खेलाडी करण केसी, अविनास बोहरा भने बाहिरिएका छन् । यस्तै टी २० को व्याटिङतर्फ पारस खड्का ४५२ रेटिङ प्वाइन्टका साथ ५५ औँ स्थानमा रहेका छन् । उनी गएको महिना ४५ औँ स्थानमा थिए । ८० रेटिङ प्वाइन्टका साथ पारस अलराउण्डर तर्फ ३३ औँ स्थानमा पुगेका छन् ।
उनी पछिल्लो महिना २४ औँ स्थानमा रहेका थिए । यसैगरी ५९ औँ स्थानमा रहेका सोमपाल कामी एक स्थान तल झर्दै ६० औँ स्थानमा पुगेका छन् । अलराउण्डरतर्फ नेपाली टिममा संकट मोचकको उपमा पाएका करण केसी ८३ औँ स्थानमा रहेका छन् ।