काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पारस खड्कासहित सात नेपाली क्रिकेटर समावेश भएका छन् ।
सोमबार सार्वजनिक गरिएको ड्राफ्टमा पूर्वकप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शरद भेष्वाकर, विनोद भण्डारी, आरिफ शेख र रोहितकुमार पौडेल समावेश भएका छन् ।
पारस, सोमपाल, शरद, दीपेन्द्र र रोहितकुमारले पीएसएलका लागि व्यक्तिगत रुपमा नाम पठाएका थिए भने विनोद र आरिफको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको थियो । पारसहित सातै जनालाई सिल्भर क्याटागोरी (विदेशी) मा राखिएको छ। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर छ ।
क्यानले विनोद र आरिफसँगै करण केसी, पवन शरार्फ र ललित नारायण राजवंशीको नाम पनि पठाएको थियो । तर, उनीहरु अहिलेसम्म ड्राफ्टमा परेका छैनन्। यद्यपी इमर्जिङ क्याटागोरी ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने विदेशी खेलाडीको ’प्लाटिनम’ श्रेणीमा परेका थिए ।
यो क्याटागोरीको मूल्य १ लाख ४७ हजार डलर देखि २ लाख १८ हजार डलर छ । सन् २०२० को फेब्रुअरीमा हुने पीएसएलको खेलाडी छनोटका लागि डिसेम्बर ६ र ७ मा ‘ड्राफ्ट’ हुनेछ ।