काठमाडौँ – भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार अबेर राति नेपाल आइपुगेका हुन् ।
तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै फर्कंदै छन् ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने, ‘नेपाल आउँदा निकै खुशी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् ।
बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा उनलाई नेपाल ल्याउन युनिसेफ सफल भएको हो । तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै प्रदर्शनी खेल खेल्नेछन् । युनिसेफले तेन्दुलकरसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०–१० ओभरको हुनेछ ।
१६ नोभेम्बर २०१३ मा सबै खाले क्रिकेटबाट सन्यास लिएका तेन्दुलकरले ६ वर्षपछि त्रिवि मैदानमा ब्याट समात्दाको उद्देश्य फरक हुनेछ । प्रदर्शनी खेल र उनले आफ्नो नेपाल बसाइका क्रममा गर्ने सबै गतिविधि बालबालिकासम्बन्धी अधिकारको प्रवर्धनका लागि हुनेछ ।