काठमाडौं – बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
ऐतिहासिक जित हासिल गरेका महिला टोलीलाई सम्मान सहित जनही तीन लाख दिने घोषणा भएको राखेपका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । स्वदेश फर्किने क्रममा महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको थियो ।
खेलाडीलाई स्वागत गर्न पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।
गत बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल भएको थियो । नेपाली महिला टोली एभिसीमा अपराजित रहँदै उपाधि हात पार्न सफल भएको हो ।
यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य जितेको छ । विजेता टोलीले टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।