शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडाैं – नेपाली फिल्म इतिहास जगतमा ‘राते काइँला’ का रुपमा परिचित वरिष्ठ कलाकार सुनील थापाले सलमान खानको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्ने भएका छन् ।

फिल्ममा सुनील थापाले अभिनय गर्ने मौखिक सम्झौता भए पनि लिखित सम्झौता भने हुन बाँकी छ । पाँच वर्षअघि प्रियंका चोपडासँग फिल्म ‘मेरी कोम’ मा काम गरेर चर्चा कमाएका सुनील थापाले सलमान खान फिल्मसको ब्यानरमा बन्ने फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने जनाइएको छ । फिल्ममा भारतको मणिपुर राज्यको कथा रहनेछ भने थापालाई मुखियाको भूमिकामा देख्न सकिनेछ ।

फिल्म ‘मेरी कोम’ मा निभाएको भूमिकाका कारण सुनील थापाको बलिउडमा समेत चर्चा भएको थियो । फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा पाइला राखेका थापालाई नेपाली फिल्म जगतमा कुशल खलनायकका रुपमा लिने गरिन्छ । ‘क्वाथा’ को छायांकन थाइल्याण्डमा हुने जनाइएको छ ।

यद्यपि सुनील थापाले भने फिल्म छायांकनका लागि नेपाल आउन आग्रह गरेको बताएका छन् । नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने हेतुले फिल्म शूटिङका लागि नेपाल आउन आग्रह गरेको थापाले बताए । फिल्ममा क्याटरीना कैफकी बहिनी इसाबेला र सलमान खानका ज्याइँ आयुष शर्माको शीर्ष भूमिका रहनेछ । इसाबेलको यो डेब्यु फिल्म हुनेछ ।

तपाईको प्रतिक्रिया