काठमाडाैं – अर्जेन्टिनी लिजेन्ट डिएगो म्यारोडोनाले फेरि प्रशिक्षकको भुमिका निर्वाह गर्ने भएका छन् । म्यारोडोनाले अर्जेन्टिनाको पहिलो डिभिजन क्लब जिम्नासियाको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
अर्जेन्टिनी क्लब जिम्नासियाले ट्वीट गर्दै म्यारोडोनालाई स्वागत गरिसकेको छ भने म्यारोडोनाले पनि इन्टाग्राममा तस्बीर हाल्दै यसको जानकारी दिएका छन् । ‘विश्व फुटबलका स्टार डिएगो म्यारोडोना जिम्नासियाको नयाँ कोचको रुपमा हस्ताक्षर गरेका छन्’, क्लबले भनेको छ ।
जिम्नासिया अहिले अर्जेन्टिनाको सुपरलिगमा १८ औं स्थानमा छ र रेलिगेसनको डरमा रहेको छ । प्रशिक्षकको रुपमा म्यारोडोनाको यो छैटौं र अर्जेन्टिनाको उच्च स्तरमा यो तेस्रो कार्यकाल हुनेछ । म्यारोडोनाको सम्झौता यो सिजनको अन्त्यसम्म कायम रहने छ । ‘अन्तिमका दुई टिमहरुमा उनले प्रदर्शनमा प्रतिस्पर्धात्मक सुधार ल्याएका थिए’, जिम्नासियाले एक स्टेटमेन्टमा बताएको छ ।
५८ वर्षे म्यारोडोनाले एक वर्ष अगाडि म्याक्सिकोको दोस्रो डिभिजन क्लब डोराडोस डि सिनालोहाको प्रशिक्षण सम्हालेका थिए । यद्यपि जुनको मध्यतिर खुट्टाको अपरेसन गर्नुपर्ने भन्दै क्लबबाट बाहिरिएका थिए । उनले सन २०१० को विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए। त्यसबेला अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीसँग ४-० ले पराजित हुँदै बाहिरिएको थियो ।
सन २०१० मा म्यारोडोना र ब्राजिलियन खेलाडी पेलेले संयुक्त रुपमा फिफा प्लेयर अफ द ट्वाइन्टिथ सेन्चुरी पनि पाएका थिए । ‘अन्ततः यो आधिकारिक हो ।’ म्यारोडोनाले इन्टाग्राममा लेखेका छन् ‘जिम्नेसियाको कोच बन्न पाउँदा एकदमै खुशी छु ।’ पछिल्ला ५ खेल मध्ये ४ खेलमा पराजय भोगिसकेको जिम्नासियालाई माथि उठाउनु म्यारोडोनाको लागि पहिलो चुनौती हुनेछ ।