काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायके फेरि नेपाल आउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको कार्यकाल सकेर फर्किएको चार वर्षपछि पुबुदु नेपाल आउन लागेका हुन् ।
पुबुदु टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रुपमा आउन लागेको भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले जानकारी दिए । उनका अनुसार पुबुदुलाई भैरहवा ग्लाडियटर्सले लामो सयमका लागि अनुबन्ध गरेको छ। उनले चर्चित क्रिकेट हस्तीलाई टोलीको प्रशिक्षकको रुपमा पाउँदा खुशी लागेको बताए । ‘ फ्रेञ्चाइज क्रिकेटलाई मात्र होइन, नेपाली क्रिकेटका लागि नै नयाँ प्रतिभाहरु पुबुदुले खोज्नेछन् भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।
पुबुदुले आफू नेपाल नयाँ भूमिकामा आउन उत्साहित रहेको बताएका छन् । नेपाललाई दोस्रो घर बताउँदै आएका ४९ वर्षीय पुबुदुले भनेका छन्,‘नेपाल सधैँ मेरो मुटु नजिक छ । म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु ।’ इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट सुरु हुनेछ । पुबुदु प्रतियोगिता सुरु हुनु एक महिना अघि नेपाल आइपुग्ने छन् ।
पुबुदुको पारिश्रमिकबारे भने खुलाइएको छैन । पुबुदुले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०११ देखि चार वर्ष मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए । इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि भैरहवा पराजित भएको थियो । भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकर हुन् ।