काठमाडौं – काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोनको उपाधि किर्गिस्तानले जितेको छ । शनिबार भएको फाइनलमा उज्वेकिस्तानलाई प्रतिष्पर्धात्मक खेलमा ३-० को सोझो सेटमा नतिजा आफनो पक्षमा पार्न सफल भयो ।
लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गीस्तानलाई सुरुवाती दुई सेटमा कडा चुनौती दिए पनि जित निकाल्न नसक्दा खेल सोझो सेटमानै गुमाउन उज्वेकिस्तान बाध्य भयो । किर्गिस्तानले २६-२४, २७-२५ र २५-१९ को सेटमा नतिजा निकाल्न सफल भयो । च्याम्पियनसिपमा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए ।
सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गरेको थियो भने उज्वेकिस्तानले माल्दिभ्सलाई हराएको थियो । पहिलो पटक नेपालमा आयोजित प्रतियोगितामा ७ टोलीले सहभागिता रहेको थियो । जसमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौथो भएको थियो । त्यस्तै नेपालले पाँचौं स्थान हासिल गर्दा अफगानिस्तानले छैटौं र बंगलादेश सातौं स्थानमा रहे ।