काठमाडाैं – फेसबुकले ह्वाट्सएपका धेरैजसो फिचर मेसेन्जरमा पनि दिने तयारी गरेको छ । रिपोर्टअनुसार, अब मेसेन्जरमा पनि कोट एन्ड रिप्लाई फिचर दिइनेछ ।
यसको अर्थ, तपाईं कन्भर्सेसनका बीच कुनै एक मेसेजलाई कोट गरेर त्यसको ठीक मुनि देखाउने गरी रिप्लाई गर्न सक्नुहुन्छ । यो फिचर ह्वाट्सएपमा पहिलेदेखि नै उपलब्ध छ । मेसेन्जरको यो नयाँ फिचरको स्क्रिनसट भेन्चरबिटले सार्वजनिक गरेको छ । तर, यो फिचर आम प्रयोगकर्तालाई कहिलेदेखि उपलब्ध गराइनेछ भन्ने अहिलेसम्म खुलाइएको छैन ।
हालै मेसेन्जरमा ‘डार्क मोड’ फिचर दिइएको छ । यसलाई इनेबल गर्न कुनै च्याटमा मुन (चन्द्रमा) को इमोजी पठाउनुपर्नेछ । त्यसपछि युजरलाई अन-अफ गर्ने अप्सन देखाउँछ । फेसबुक मेसेन्जरमा ह्वाट्सएपका थुप्रै फिचरहरु आइसकेका छन् । यसैगरी, मेसेन्जरका फिचर पनि ह्वाट्सएपमा दिइएका छन् । यी दुवै प्लेटफर्मको माउ कम्पनी फेसबुक हो ।
यी फिचरहरुले संकेत गर्दछन् कि कम्पनीले छिटै क्रस प्लेटफर्म मेसेजिङको सुविधा ल्याउँदै छ । हालै फेसबुक सिइओ आर्क जुकरबर्गले मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई मर्ज गर्ने योजना सुनाएका थिए । उनले भनेको ‘मर्ज’को अर्थ तीनवटै प्लेटफर्मलाई मिलाएर क्रस मेसेजिङ प्लेटफर्म तयार गर्ने तयारी हो । ता कि, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाबाट एकअर्काका युजरसँग च्याट गर्न सकियोस् ।