काठमाडाैं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भू-उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट-१ नामक भू-उपग्रह प्रक्षेपण गरिन लागिएको हो ।
यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भएकाे भने पनि गते निश्चित गरिएको थिएन । ‘झण्डै चार सय किलोमिटरमाथि आकाशबाट भू-उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ’, नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, ‘त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ ।’
भू-उपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । भू-उपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताएको छ । –रासस