बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

टोकियो – जापानमा आपराधिक गतिविधि घट्दोक्रममा रहेको भएता पनि घरेलु बालहिंसा भने गत वर्ष सन् २०१८ मा अहिलेसम्मकै उच्च रहेको जापान प्रहरीले जनाएको छ ।

जापानको बालबालिका कल्याण विभागका अनुसार गत वर्ष १८ वर्ष मुनिका ८० हजार १ सय ४ जना बालबालिका घरेलु हिंसाबाट पीडित भएको जनाईएको छ । यसप्रकारको गतिविधिमा संलग्न सन् २०१७ मा १ हजार ४ सय जना र सन् २०१८ मा ९ हजार जनालाई प्रहरीले हिरासतमा लिएको जनाएको छ ।

रिपोर्टका अनुसार सन् २०१८ मा ५७ हजार ३ सय २६ बालबालिका मनोवैज्ञानिक हिंसाबाट पीडित थिए भने १४ हजार ८ सय २१ बालबालिका शारीरिक हिंसाबाट पीडित, ७ हजार ६ सय १९ घरपरिवारबाट गरिएको अवहेलनापूर्ण हिंसाबाट पीडित थिए भने २ सय ५८ जना यौंनहिंसाका पीडित थिए । जुन अघिल्लो वर्षको भन्दा बढ्दो क्रम हो । बालबालिकामाथि हुने यस्ता दुर्ब्यवहारजन्य हिंसालाई कम गर्न जनमानसमा जनचेतनाको अभिबृद्धि गरिनुपर्ने अनुसन्धानकर्मीहरुको सुझाव छ ।

गत वर्षको मार्चमा मेगुरो वार्डमा ५ वर्षिय बालिका मृत भेटिएको र पछि अनुसन्धानबाट उनकी आमा र सौतेलो बाबुको शारीरिक हिंसा उनको मृत्यूको कारण रहेको पत्ता लागेको थियो ।
अघिल्लो वर्षा ८ लाख १७ हजार आपराधिक गतिविधि सम्बन्धि उजुरी परेको राष्ट्रिय प्रहरी एजेन्सीले बिहीबार पुष्टि गरेको हो । जुन अघिल्लो वर्षको भन्दा १० दशमलव ७ प्रतिशतले गिरावट हो । सन् १९४६ देखि यो रेकर्ड राख्न सुरु गरिएयता विगत १६ वर्षदेखि यो घट्दो क्रममा रहेको र अघिल्लो वर्ष हाल सम्मै न्यून रहेको बताईएको छ ।

घट्दो जन्मदर र बढ्दो बृद्धा एवं ज्येष्ठ नागरिक संख्या झेलिरहेको जापानमा बालबालिका माथि हुने दुर्ब्यवहार र हिंसा बढ्नु जापान सरकारको लागि टाउको दुखाईको बिषय भएको छ । यसको रोकथामको लागि जनचेतना फैलाउनु नै सबैभन्दा उपयुक्त उपाय रहेको सम्बन्धित क्षेत्रका जानकारहरुले बताउने गरेका छन् ।***

तपाईको प्रतिक्रिया