बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

नेपाल वायु सेवा निगमको १२ वर्षपछि पुनः नेपाल जापान सिधा उडान भर्ने बिषयले नेपाली समुदायमा मात्र नभए शुभचिन्तक जापानी समुदायमा पनि उत्साहको सञ्चार गरेको छ । नेपालको एक असल मित्रराष्ट्र जापानले नेपालको समृद्धिको यात्रामा सकारात्मक र सहयोगी भूमिका निर्बाह गर्ने प्रतिबद्धता जनाईसकेको छ । जसअनुसार घोषित पर्यटन वर्ष सन् २०२० मा लक्षित २० लाख पर्यटक भित्र्याउने अभियानमा जापान र जापानी पर्यटकको भूमिका एवं स्थान महत्वपूर्ण रहने देखिन्छ ।

ओसाका काठमाडौं सिधा उडानका सम्बन्धमा प्रक्रियागत रुपमा सबै तैयारीहरु पुरा भएको र संभवत आउँदो अप्रिलको पहिलो सातादेखि उडान सुरु हुने सम्बन्धित अधिकारीहरु बताउने गरेको भएपनि सर्बसाधारण जापानी नागरिकहरु भने अझै विश्वस्त हुन सकिरहेका छैनन् । युरोपियन युनियनको कालो सूचीबाट नहटीसकेको अवस्था, वाइडबडि खरिदमा भ्रष्टाचार भएको भनिएको प्रकरणको ताजा घटना, निगमको आफ्नै लामो इतिहास भएता पनि तंग्रिन नसकेको अवस्थाबारे जापानीहरु राम्रोसंग जानकार छन् । यसप्रकारको परिप्रेक्ष्यमा नेपालको तर्फबाट सबै प्रक्रिया पुरा भएको भनिएता पनि जापानको तर्फबाट बाँकी रहेका केही कानुनी जटिलताहरुले पूर्णता पाएपछि मात्र उडानको सुनिश्चितता हुने देखिन्छ । यसो हुनु अगावै तिथिमिति नै तोकेर उडानको घोषणा गरिनु र क्रमशः मिति सार्दै जानुले जापानीहरुमा सकारात्मक सन्देश प्रवाह नहुन सक्छ । तसर्थ ढिलै भएपनि साँच्चिकै उडान हुने तिथिमिति परिपक्व ढंगले सार्बजनिक गरिनु उपयुक्त हुन्छ । नेपाली मिडिया बजारमा फेब्रुअरीको अन्तिम सातादेखि उडान हुने बिषय यसअघि नै बाहिर आईसकेका छन् ।

बहुसंख्यक सर्बसाधारण यात्रुको सुबिधाका दृष्टिले ओसाका भन्दा राजधानी टोकियोबाट पायक पर्ने हानेदा र नारिता विमानस्थल धेरै उपयुक्त मानिन्छ । दुई देशको राजधानी बीच सिधा सम्पर्कले यात्रु ओसार पसार मात्र नभएर अन्य क्षेत्रहरुका संभाब्यतालाई पनि उजागर गर्ने अवसर हुँदा हुँदै तत्कालका लागि ओसाकास्थित कान्साई विमानस्थलबाट नेपालसंगको सिधा हवाई सम्पर्कको प्रक्रिया अगाडि बढाईएको बताईएको छ । निकट भविष्यमा राजधानी टोकियोसंग पनि हवाईसम्पर्क कायम हुने बिषयलाई पाइपलाईनमा राखिएको अधिकारीहरु बताउँदै आएका छन् । जापान जस्तो मुलुकसंग दुई-दुईवटा सहरमा हवाई सम्पर्क स्थापित हुनु ज्यादै राम्रो हो, तथापि यो बिषयले मूर्तरुप पाउने हो या होईन त्यो भने हेर्न बाँकी छ । यदि अमूर्त हो भने त्यस्तो बिषयमा अधिकारीहरु प्रवेश नगरेकै राम्रो हो ।

जापान नेपाल सिधा हवाईसम्पर्क कायम हुनासाथ जापानी पर्यटकलाई नेपाल भित्र्याउन थप सहज हुनेछ । त्यसका लागि सुरुमै जापानीहरुलाई बिश्वासमा लिएर सूचना तथा सेवा प्रवाह गर्नु राष्ट्रिय ध्वजाबाहक निगमको पहिलो कर्त्तब्य हो । यसका साथै नेपालको प्राकृतिक सौन्दर्यता र पर्यटकीय गन्तब्यहरुका बारेमा जापानमा प्रचारप्रसार पटक्कै पुगेको छैन । हालसम्म नेपाल बारे थोरबहुत जानकारी भएका आफ्नै ईच्छा र चाहनाले मात्र जापानी पर्यटकहरु नेपाल जाने गरेका देखिन्छन् । जापानीहरुबीच नेपालको बारेमा ब्यापक प्रचारप्रसार गरी नेपाल बारे पर्याप्त जानकारी गराउन सकेमा यो संख्यामा ठूलो बढोत्तरी आउनेमा कुनै शंका छैन । त्यसका लागि नेपाल सरकार, सरोकारवला निकायहरुको बेलैमा ध्यान जानु आवश्यक छ । यसका साथै जापानस्थित नेपाली दूतावास र यहाँका नेपाली समुदायको पनि उत्तिकै सकारात्मक पहलकदमी हुनु वाञ्छनीय छ ।

अथाह संभावना रहेको पर्यटन क्षेत्रलाई नेपालले आर्थिक बिकाससंग जोड्न नसकिरहेको परिप्रेक्ष्यमा नेपाल वायुसेवा निगमको जापान नेपाल सिधा हवाई सम्पर्क हुने बिषय कोसेढुंगा सावित हुन सक्नुपर्दछ । जापानीहरुको भ्रमण गर्ने तिब्र रुची र स्वभावअनुसार नेपालले पनि सोहीबमोजिम सेवा, सुबिधामा परिमार्जित गर्दै जानुपर्दछ । एक जना पर्यटक खुशी भएर फर्कदा पर्ने प्रभाव र बेखुशी भएर फर्कदा पर्ने त्यसको असर ज्यादै अर्थपूर्ण हुने बिषयमा नेपालले अब ध्यान दिनैपर्दछ । अत्यन्त संवेदनशील र जनचासोका बिषयहरुको सूचना प्रवाहमा पनि सम्बन्धित निकायहरु जिम्मेवार हुन उत्तिकै आवश्यक छ ।***

तपाईको प्रतिक्रिया