Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

बेझाड – बगनासकाली गाउँपालिका-८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ ।

कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । ‘पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु’ घिमिरेले भन्नुभयो ।

उहाँले किसान परियोजनामा आवद्ध हुँदा मासिक ५० हजार बराबर तलब बुझ्नुहुन्थ्यो । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गर्नुभएकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाउनुभएको छ । कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहनुभएको छ । ‘आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ’ उहाँ भन्नुहुन्छ ।

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उहाँलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उहाँ बताउनुहुन्छ । यहाँ उत्पादित कुरिलो प्रतिकिलो ४००मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ । ‘कुरिलोको उत्पादन लिने समय नहुँदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पुर्याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु’ घिमिरेले भन्नुभयो ।

यस व्यवसायमा उहाँका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आउनुभएको छ । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहनुभएको छ । मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हुँदा पनि बिक्रीका कुनै समस्या छैन ।

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया