काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र आलोचना र असन्तृष्टी बढेको छ । दुई तिहाइ बहुमतको सरकार र त्यसलाई सञ्चालन गर्ने पार्टी विधि र प्रक्रियामा नचलेकोमा असन्तुष्टी झांगिएको हो । पार्टीले स्पष्ट दिशा दिन नसकिरहेका बेला एकता प्रक्रि याले पनि पूर्णता पाउन सकिरहेको छैन । यो अवस्थामा उच्च तहकै नेताहरूबाट चर्को असन्तुष्टी मुखरित भईरहेको छ । यिनै मध्येका एक हुन् स्थायी कमिटी सदस्य घनश्याम भुसाल । सरकार र नेकपाको गतिबाट उहाँ सन्तृष्ट हुनुहुन्न । किन यस्तो अवस्था आयो, अब नेपाल कम्युनिष्ट पाटी कसरी अगाडि बढ्नुपर्छ ? यसै विषयमा केन्द्रित रहेर नेता भुसालसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः –
स्थायी कमिटी बैठकबारे बाहिर निकै टिकाटिप्पणी आईरहेका छन् नि, पार्टी नेतृत्वको आलोचना भएकै हो ?
लामो समयपछि बसेको बैठकमा नेताहरुले आ-आफ्ना धारणा राखेको छन् । यो क्रममा थुप्रै असन्तृष्टीहरु आएका छन् । खासगरी पार्टी विधि र प्रक्रियामा नचलेको कुरा छ, नेतृत्वबाटै विधान उल्लंघनका कुरा, सरकारका काम कारवाही, पार्टी एकताको स्पीड लगायतमा असन्तुष्टी छन् । केहि साथीहरुले त लिखित रुपमै फरक मत पनि राखेका छन् । पार्टी सचिवालयले पनि जुन स्पीडमा काम गर्नुपर्ने थियो त्यो गरेको देखिएन । यिनै विषयमा बैठकमा छलफल चलेको छ, नेतृत्वका आलोचना भन्दा पनि समग्र कामको मन्थन भएको छ ।
तपाईंले त सचिवालय नै असफल भयो भन्नुभएको छ, यसले काम गर्न नसकेको हो ?
पार्टी एकता भएर दुई तिहाइको सरकार बनेको कारण जुन असाधारण ऊर्जा र मनोविज्ञान सिर्जना भएको थियो त्यसलाई सचिवालयले कमजोर बनाएको छ । अधिकार सबै सचिवालयमा राख्ने काम भएको छ तर त्यो राम्रोसँग चलेको छैन, परिणाम दिन सकेको छैन । ९ जनाको निकै सानो टिम छ । पार्टी अहिले सानो गुट बनाएर, छलफल नभएरै निर्णय हुने हिसाबले चलेको छ । स्वभावैले जति थोरै मानिसबाट चलाईन्छ, त्यति धेरै गल्ती हुने संभावना रहन्छ । सचिवालयका ९ जनामध्ये पनि कतिपयले सरकारबाट हुने नियुक्ति र अन्य निर्णयमा छलफल हुँदैन भन्ने गर्नुभएको छ । स्वयं ९ जनाले नै हामीकहाँ छलफल हुँदैन भनेपछि अन्त कहाँ छलफल भयो होला र ? सरकार र पार्टीको ठूलो समस्या वा गुदी कुरा यही हो ।
पार्टीभित्रै यो ‘सम्बन्ध विच्छेद’ जस्तो, मनमुटाव जस्तो देखिन थाल्यो, यस्तो अवस्था किन आयो ?
मैले पटक-पटक भन्दै आएको छु, सय वर्षको कम्युनिष्ट आन्दोलन नियाल्दा हामी अहिले जुन ‘पोजिसन’ मा छौं, निर्वाचन परिणामको हिसाबले यो संसारको सबैभन्दा उत्तम नतिजा हो । कम्युनिष्ट पार्टी बलियो भएर समाजवाद आउँछ, शान्ति र विकास निर्माण हुन्छ भनेर जनतालाई अनुभूति गराउने अहिले अवसर र सामर्थ्य दुवै छन् । तर, त्यो देखिईरहेको छैन । त्यसको अर्थ नेतृत्वको कार्यशैलीमा समस्या छ । अध्यक्षहरूलाई धेरै अधिकार दिएदेखि नै पार्टी लोकतन्त्र अवरुद्ध हुँदै, खुम्चिँदै गयो । त्यो अहिलेसम्म पनि आफ्नो ट्रयाकमा फर्किन सकेको छैन । धेरै कमजोरीको सुरुवात यहीँबाट भयो र शीर्ष तहमै समन्वयको अभाव देखियो, यसले तल्लो तहमा पनि मनमुटाव बढायो ।
पार्टीमा लोकतन्त्र खुम्चिँदै गयो भन्नुभयो, यसको अर्थ तपाईंहरुका माग सम्बोधन हुदैनन् या बोल्नै पाउनुभएको छैन, के हो ?
यसलाई धेरै हिसाबले व्याख्या गर्न सकिन्छ । नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएर आएपछि हिजोको एमालेमै पनि यो खुम्चिन थालेको थियो । अहिलेको कुरै नगरौं । तल्लो पंक्तिका सिर्जना, आवाज र मतहरूलाई अवरुद्ध गरिदियो । सरकार कसरी चल्दैछ भन्ने विषयमा, संगठित छलफल र निर्णय नहुने, कसरी सुधार गर्ने भन्ने विषयमा पार्टी कार्यकर्ताले आफ्ना कुरा राख्न नपाउने, एकपछि अर्को कमजोरी हुँदै जाने र त्यसलाई ढाक्न कृत्रिम गतिविधि हुने भएको छ । यो शैली सच्चिनुपर्छ, त्यसका लागि सहकार्य, सहभागिताकै बाटोबाट जाने हो । यदि नेतृत्वको कार्यशैली र व्यवहार नसच्चिए ठूलो दुर्घटना हुन सक्छ ।
लोकतान्त्रिक प्रक्रियामा फर्किने अवस्था देखिएन भने एकता के हुन्छ ?
पार्टी विभाजित हुने संभावना छैन । तर लोकतान्त्रिक प्रक्रियामा फर्केनौं भने यो दुई तिहाईले जे गर्नुपर्ने थियो त्यो हुँदैन । लामो समय देखिको राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुग्यो, त्यसलाई जनताले बुझे र नेकपालाई बहुमत दिए । अहिले स्थिरताका लागि पर्याप्त राजनीतिक, संवैधानिक वातावरण जुटेको छ । अब यो असफल भयो भने लोकतान्त्रिक स्थिरताका साथ यो देशले विकास गर्ने संभावना छैन भन्ने डरलाग्दो मनोविज्ञान स्थापित हुनेछ । यो प्रकारको गम्भीरता नेताहरुमा नदेखिनु, साना-साना कोटरी बनाउनु, माथि-माथि मात्रै छलफल गर्नु र त्यसबारे कार्यकर्तालाई थाहा नदिनु अहिलेको दुर्भाग्य हो ।
पार्टी एकता प्रक्रियामा सच्याउनुपर्ने ती कमजोरी के के हुन् ?
पार्टी एकता घोषणा जेठ ३ गते भयो । ३ बजे निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्नेछ, १२-१ बजे चार, साढे चार सय जनाको बैठक बोलाइएको छ । त्यस्तो अवस्थामा एकता प्रक्रिया खलबलिन्छ कि भनेर बोल्न पनि नमिल्ने । एकीकृत पार्टी अध्यक्ष दुई जना रहने निर्णय पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुवैले संस्थागत रूपमा गरेका थिए । त्यसबाहेक अन्य कुनै पद हुन्छ भन्ने थिएन । तर अचानक महासचिवको पद आयो, राजनीतिक र सांगठनिक निर्णय गर्ने अधिकारसमेत सचिवालयमा छ भनेर भनियो । सचिवालयले अहिले नेकपालाई लिड गर्न सकेको छैन । केन्द्रीय सदस्य, विभाग र तल्ला कमिटीहरूले जिम्मेवारी पाएका छैनन् । त्यसैले जहाँबाट बाटो बिराईएको थियो, त्यहींबाट सच्याउन सुरु गर्नुपर्ने हुन्छ । त्यसरी सुधार गर्दै जाने हो भने दुई-तीन महिनामा उल्टाउन सक्ने क्षमता नेकपामा छ ।
दुई अध्यक्षबीच संगठनमा भागबण्डा नमिलेर अप्ठेरो भईरहेको हो ?
संगठनात्मक एकीकरण नहुँदा, जिम्मेवारी नुहँदा जे-जे बिग्रिएका छन् त्यसको सबै दोष नेताहरुलाई नै लाग्ने हो । संगठनात्मक एकीकरण ढिलो गरेर नेताहरुले बदनामी कमाईरहेका छन् । प्रजातान्त्रिक प्रक्रियालाई खुम्च्याएर नेताहरुले कुनै किसिमको श्रेय पाउँदैनन् । यो कुरा हामीले नेताहरुलाई बुझाउन सकेनौं ।
दुई तिहाईंको सरकारमाथिको विश्वास किन धर्मराउन थालेको होला ?
सबैका अगाडि स्पष्ट छ । न यसमा बढाइँचढाइ गर्नुपर्ने छ न घटाउनुपर्ने छ । कोही प्रधानमन्त्री, मन्त्री भैदिएको, कसैले राजनीतिक नियुक्त पाईदिएको अवस्थामा यो सरकार चलेको छ । हिजोको सरकारसँग तुलना गर्दा यो सरकार ठीकै चलेको छ । तर सरकारलाई हिजोको जस्तो मात्रै चलाएर भएको छैन । हिजो अस्थिरताको बेला ६-६ महिनामा प्रधानमन्त्री बदलिने समयमा जति काम भएका थिए, त्यो भन्दा धेरै नै काम अहिले भएको होला । तर त्यस विषयमा पनि पार्टी भित्र कुनै छलफल भएको छैन । सरकारमा बसेकाले राम्रो राम्रो मात्रै देखेका छन्, बाहिरबाट त्यस्तो देखिएको छैन ।
सरकारले राम्रा काम र निर्णय नगरेको हो या गर्ने ढंग नपुर्याएको हो ?
सरकारका मात्र होइन, व्यक्तिका पनि निर्णय प्रक्रिया कति पारदर्शी छन् भनेर दुनियाँले हेर्छ । मैले राम्रो निर्णय गरे भन्ने कुराको कुनै औचित्य छैन । त्यसकारण, पारदर्शिता र निर्णयमा सहभागिता नेतृत्वका लागि असाध्यै महत्वपूर्ण हुन्छ । हामी जता जाँदैछौं, हाम्रो नेतृत्व जता जाँदैछ, मचाहिँ यसलाई डरलाग्दो देख्छु ।
अन्त्यमा, सरकारको मूल्याङकन चाहिँ कसरी गर्नुहुन्छ ?
८-९ महिनामा सरकारले जे गर्यो त्यसको बेलिविस्तार वा व्याख्या तिर म जान्नँ । म जहाँ छु, त्यहाँबाट भन्दा यो सरकारमाथिको विश्वास धर्मरायो वा खत्तम भयो भनिहाल्न मिल्दैन । तर, हामीले राम्रो गरेका छैनौं । जुन तरिकाबाट हामी जाँदैछौं त्यो तरिका गलत छ । त्यसलाई बदल्ने हो । बदल्नका लागि पार्टीको आन्तरिक लोकतन्त्र बहाल गर्ने हो । त्यसपछि नयाँ विचार, कार्यक्रम, कार्ययोजना आउँछ । त्यसलाई बोकेर सम्पूर्ण पार्टी पंक्ति हिंड्ने हो ।***