काठमाडौं – नेपालमा यो वर्ष धानको उत्पादनमा झण्डै ९ प्रतिशतले वृद्धि भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो बर्ष ५५ लाख ८३ हजार मेट्रिक टन धान उत्पादन भएको हो । यद्यपि यो कुल मागभन्दा झण्डै ४ लाख मेट्रिक टन कम हो ।
जनसंख्या बृद्धिदरलाई समेत जोडेर हेर्दा नेपालमा बर्षेनी ५९ लाख मेट्रिक टन धान आवश्यक पर्ने मन्त्रालयको दावी छ । खाद्यान्नमा आत्मनिर्भर हुने सरकारी लक्ष्य यसपटक पनि पूरा नहुने भएको छ ।
मन्त्रालयको तथ्याङ अनुसार मौसममा आएको अनुकुलताले यसपटक धानको उत्पादकत्व झण्डै ७ प्रतिशतले बृद्धि भएको छ ।
उत्पादकत्वमा आएको वृद्धि सिचाईको उपलब्धता, मलखादको सहज आपुर्ति तथा मौसमको साथले यसवर्ष धानको उत्पादन वृद्धि भएको मन्त्रालयका सुचना अधिकारी बिनोद भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार यो बर्ष धानखेती हुने क्षेत्रफलमा पनि १ दशमलव ३ प्रतिशतले बढेकाले राष्ट्रिय उत्पादनमा पनि वृद्धि भएको हो ।
नेपालमा ७३ दशमलब ९ प्रतिशत जनसंख्या प्रत्यक्ष रुपमा कृषिमा संलग्न छन् । मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलब ९ प्रतिशत छ । धानको उत्पादनमा भएको बृद्धिले यो वर्ष जीडीपीमा थप सुधार ल्याउने मन्त्रालयको दाबी छ ।
२६ लाख ४२ हजार कुल खेतीयोग्य जमिनमध्ये यसबर्ष हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा रोपाई भएको मन्त्रालयले जनाएको छ ।