बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – वाचन प्रवीण पं. दीनबन्धु पोखरेलले पूर्वीय दर्शनलाई बिश्वब्यापीरुपमा उत्थान गर्दै एक दिन नेपाल नेतृत्व गर्ने तहमा पुग्ने बताउनुभएको छ ।

अध्यात्मलाई विज्ञानसंग र वेदलाई बुद्धसंग जोड्ने यो महाअभियानमा आफु बिश्वब्यापीरुपमा लागिरहेको बताउँदै पं. पोखरेलले जापानमा पनि यो अभियान सुरु गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

टोकियोमा आजदेखि तीनदिन सम्म हुने आध्यात्मिक प्रवचन दिन जापान आउनुभएका पं. पोखरेलले युवा पुस्तालाई आध्यात्मिक मुलधारमा समाहित गर्न अति आवश्यक भएको विचार ब्यक्त गर्दै नेपाली मनहरुलाई जोड्न, आध्यात्मिक भावनालाई जागृत गर्न र आफुले आफुलाई चिन्न आध्यात्मिक ज्ञानको महत्व उच्च रहेको बताउनुभयो ।

कार्यक्रमको तैयारी बारे टोकियोमा बिहीबार आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

शान्ति र आनन्दको खोजीमा भौतारिईरहेका मानव जीवनलाई आध्यात्मसंग जोड्न आयोजित कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको उहाँको धारणा थियो ।
’आध्यात्मिक र भौतिक चिन्तन बहुआयामिक प्रयोजनका लागि आवश्यक छ, यसलाई कर्मकान्दी र संकिर्णतासंग जोडेर हेर्न मिल्दैन’ – पं. पोखरेलले भन्नुभयो – ’नेपाल र नेपाली कला, संस्कृति, सभ्यतालाई चिनाउने यस अभियानमा सबै जुटौ, सबै उठौ र कोही पनि नछुटौं ।’

उक्त अवसरमा आयोजक संस्था आध्यात्मिक सेवा केन्द्र जापानका अध्यक्ष कपिलदेब थापाले श्रीमद्भागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा सहभागी भएर श्रवण गर्ने अवसर नगुमाउन जापानमा रहेको नेपाली समुदायलाई अपील गर्नुभयो ।

जापानमा हिन्दु धर्मावलम्वीहरुका लागि मन्दिर स्थापना गर्ने मुलभूत उद्देश्यले गठित आध्यात्मिक सेवा केन्द्रले तत्सम्बन्धमा गत वर्षदेखि विभिन्न चरणमा बृहत छलफल तथा अन्तरक्रिया गर्दै आईरहेको र यसवर्ष पहिलो चरणमा आध्यात्मिक प्रवचन कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो ।

यसैगरी कार्यक्रम संयोजक शालिकराम भण्डारीले कार्यक्रममा पूजा, आराधना गर्ने ब्यवस्था समेत मिलाईएको जानकारी दिनुभयो । टोकियो शिन-ओकुवो स्थित सोलमारी मुरा हलमा हुने सो कार्यक्रम बिहान ९ बजेबाट १ बजेसम्म रुद्री पूजा, २ बजेबाट ५ बजे सम्म प्रवचन र ६ बजेबाट भजनिकर्तन हुने उहाँले जानकारी गराउनुभयो ।***

तपाईको प्रतिक्रिया