शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – अघिल्लो कार्यकालमा डीभी र पीआरवला कर्मचारीहरुमाथि डण्डा चलाएर निकै चर्चामा आएका मन्त्री लालबाबु पण्डित अहिले खासै चर्चामा छैनन् । लोकप्रिय नेताको छवि बनाएका पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भए पनि अहिले भने खासै कडारुपमा प्रस्तुत भईरहेका छैनन् । मन्त्री पण्डित गैरआवासीय नेपालीप्रतिको अभिव्यक्तिले पनि चर्चा र आलोचनामा छन् । यसै सन्दर्भमा मन्त्री पण्डितसंग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकार्रनीको सम्पादित अंशः-

तपाईले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भो, यो बीचमा के-के काम गर्नुभयो ?
हेर्नुहास्, म आउँदाखेरि झण्डै-झण्डै ५० प्रतिशतको हाराहारीमा कर्मचारीहरु काममा गएका थिएनन् । अहिले ० दशमलव ५ प्रतिशत अलमल होला, नभए सय प्रतिशत खटाएको छु । सय प्रतिशतमा प्रशासकीय प्रमुखहरु पठाईसकेको छु । तर, यो बीचमा नयाँ संरचना बन्यो । नयाँ संरचना बन्नासाथ अहिले यो महिनाभित्र नयाँ अफिसहरु खुल्ने छन् र अफिसहरु समायोजन हुँदैछन्, त्यसमा पनि कर्मचारी खटनपटनको काम हुँदैछ । यसबीचमा मैले, संघीय निजामति सेवा ऐन अगाडि बढाईसकेको छु । जहाँनेर जनप्रतिनिधिहरुले अलिकति मिच्न थाले भन्ने लाग्यो भने मैले कन्ट्रोल गरेकै छु । धेरै विदेश घुम्नेहरुलाई पनि कन्ट्रोल गरेकै छु । अब एकै रातमा त सबै कुरा त हुँदैन नि ।

स्वेच्छिक अवकाशको मुद्दामा कत्तिको सफल हुनुभयो ?
ट्रेड युनियन काज थियो, मैले शतप्रतिशत हटाइदिएँ । मैले ट्रेड युनियन गतिविधि अफिस टाइममा हुँदैन भनेर शतप्रतिशत हटाइदिएँ । यसलाई तपाईहरु पोजिटिभ लिनुहुन्छ कि लिनुहुन्न ?

तर, पनि जनताको अपेक्षाअनुरुप प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो आउन थालेको छ नि ?
अहिले सबैभन्दा ठूलो व्यवस्थापनको काम हो, संघीयतामा अब संघीय मन्त्रालयले झण्डै-झण्डै सवा लाख कर्मचारी अनि ३७ हजार जनप्रतिनिधिको व्यवस्थापन भएको छ । मैले प्रशासनिक अन्तरिम काल असार मसान्तभित्र सक्छु भनेको थिएँ र, सकियो पनि । संरचना जम्मै तयार भईसक्यो । कति सय मान्छे मैले पठाईराखेको छु, त्यो त चर्चा हुँदैन । सरकारी कर्मचारी खटाएको ठाउँमा जान नपाए,
काठमाडौंमै स्वादले बस्न पाए रमाउँथे होला, त्यसो गर्न म दिदैन ।

स्वेच्छिक अवकाशको विषयलाई लिएर कर्मचारीहरुलाई अलि बढी नै गाली गर्नुभयो भनेर आलोचना भएको थियो ?
पोलिसीको सत्य कुरा मैले राखिनँ भने कसले राख्छ ?

तर, ट्रेड युनियनकै नेताहरु प्रधानमन्त्री कहाँ पुगेर तपाईको अभिव्यक्तिप्रति गुनासो त गरे नि, के भन्नुहुन्छ ?
अनि, के मेरो अडान गलत थियो र तिमीहरुले लिएको अडान ठिक हो मन्त्री चाँहि गलत हो भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो ? छैन नि । संसदीय प्रणालीमा प्रधानमन्त्रीको भन्दा फरक अडानमा कोही मन्त्री जान सक्दैन । सम्बन्धित मन्त्रालयका बारेमा बोल्दा त पहिले मन्त्रीले नै बोल्नुपर्छ । मन्त्रीले प्रधानमन्त्रीसँग समन्वय गरेर बोलेको हुन्छ । समन्वय गरेर बोलेन भने त मन्त्री त्यही दिन सकिन्छ नि होइन ? त्यसैले यस्ता कुराले मलाई कुनै फरक पार्दैन ।

तपाईलाई ‘जनताको नेता’ भनेर चर्चा हुने गरेको थियो । यो ५ महिनामा सरकारको काम गराईबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
अहिले सरकारले विभिन्न सेक्टरबाट काम गरिराखेको छ । ईच्छापूर्ण हुने गरी काम भयो त म भन्दिनँ । काम भईराखेको छ । ऐन कानून बनाउन लागिराखेका छौं । अहिले धेरै काम त हामीले क्राइसिस म्यानेजमेन्टको फर्मुला अनुसार न गरिराखेका हौं । यो पाटोलाई तपाईहरुले हेरिदिनुपर्ने हुन्छ ।

तर, कर्मचारी संयन्त्रमा घुसखोरी रोकिएको छैन नि ?
कतिपय कुरा अधिकार बाहिरको पनि हुन्छ । जस्तो, मालपोतमा कर्मचारीले घुस खायो भने कर्मचारीलाई कारवाही गर्ने अधिकार कसलाई छ ? मैले गलत गर्ने कर्मचारीको संरक्षण गरेँ भने पो म दोषी हुन्छु । तर म गलतलाई गलतै नै भन्छु । अर्को कुरा के हो भने सिंगो सरकारको सन्दर्भमा सोध्दा एउटा पार्ट आउँछ । एउटा मन्त्री सरकारप्रति पनि जिम्मेवार र जवाफदेही हुन्छ । तर, के हो भने उ जहाँको कार्यकारी हो, त्यहाँप्रति बढी जिम्मेवार हुन्छ ।

तपाईको काम गराईबाट प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्छ भन्ने छ त ?
त्यो बाहिर आएको कुरा मात्र हो । असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन, म त ‘हण्ड्रेड पर्सेन्ट’ विश्वस्त छु । किन भन्दाखेरि सबै काम सल्लाहबाट भईरहेको छ । मैले कुनै अपराध गरेको छ भने कसैले बताउनुपर्‍यो नि ।

अब तपाईको अभिव्यक्ति, त्यसपछिको आलोचना र चर्चामा प्रवेश गरौं, गैर आवासीय नेपालीहरुप्रति तपाईको धारणा के हो ?
म’मा नेपाल र नेपालीलाई नयाँ कुरा दिँऊ जसले गर्दा नेपाल र नेपालीको गुमेको प्रतिष्ठालाई स्थापित गर्न सकियोस् भन्ने भावना छ । नेपालीलाई सुखी, सम्पन्न र खुशी देख्न सँकु यही नै मेरो मु्ल चाहना र सोच हो । नेपालीहरु संसारभर जहाँ गएर भए नि पढ्न सकून्, घुम्न सकून्, काम गर्न सकून् उनीहरुको जीवन सुखी र खुशी रहोस् यसमा मेरो शुभकामना छ । मैले विदेशमा रहेका नेपालीको विरोध गर्न खाजेको होइन, गाली पनि गरेको होईन तर, जो विदेशी नागरिक भईसके र नेपाललाई सराप्दैछन् उनीहरुको विरोध मात्र गरेको हो ।

तपाई त विदेशमा बस्ने नेपाललाई ‘भूपू’ नेपाली पनि भन्नुहुन्छ रे, किन ?
विदेशी मतदाता र नागरिकलाई कसरी नेपाली भन्न सकिन्छ ? नेपाललाई केहि योगदान नगर्ने, विदेशी नागरिकता र पासपोर्ट बोक्ने अनि विदेशी हुने बाटोमा हिड्ने, नेपाललाई नर्क ठान्ने, नेपालमा रहेकालाई चाँही केहि जान्दैनन् भन्ने यस्तोको म विरोधी हुँ । के कुरामा स्पष्ट हुन अनुरोध गर्दछु भने, विदेशमा रहेका सबैलाई ‘भूपू’ भन्यो भन्ने गलत प्रचार हो । डिभी लिदैमा, ग्रीनकार्ड लिदैमा मैले ‘भूपू’ हुन् भनेको छैन । म फेरी दोहोर्‍याएर भन्दैछु जुन नेपाली हिजो नेपाली थिए, वर्तमानमा विदेशी मतदाता भईसके, नागरिक भईसके तर आफूलाई नेपाली भनिरहेको छन् त्यी ‘भूपू’ हुन् र म ‘भूपू’ भन्छु ।

रहरले त विदेश जाँदैनन् होला ?
बाध्यताले विदेश गएकाहरुलाई त म सम्मान गर्छु, विदेशबाट आएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ, यो कुराको म हेक्का राख्छु । अरबमा रहेका नेपालीहरु एक रुपैयाँ पनि त्यहाँ राख्दैनन्, सबै नेपाल पठाउँछन् । त्यो नेपाल बन्नमा लागेको छ, म उनीहरुलाई स्यालुट गर्छु, त्यसैले विदेशमा रहेका नेपालीलाई मैले गाली गर्दैन तर, विदेशी नागरिक भईसकेकालाई नेपाली मान्दैन र ठान्दैन पनि ।

बिदेशमा रहेको नेपालीलाई स्वदेश फर्काउन, स्वदेशमा रोजगारी सिर्जना गर्न के गर्नुहुन्छ त ?
मैले पहिला नै मन्त्री हुँदा भनेको छु १० वर्षभित्रै अरबलगायत अन्य मुलुकमा रहेको सबै नेपालीलाई नेपालमै रोजगारीको अवसर दिने गरी प्रयास गरिने छ । म फेरी पनि लागिरहेको छु । एउटा गीत छ, ‘चालिस कटेपछि रमाउँला…’ त्यो गीतले मलाई रुवाउँछ, रमाउने अवस्थामा युवा अवस्थामा विदेशिनुपर्ने बाध्यता । त्यसकारण नेपालमै रमाउने, अझै समयमै रमाउने वातारण तयार गर्न म प्रयासरत छु ।

अन्त्यमा, के भन्न चाहानुहुन्छ ?
म संसारभर जहाँसुकै भए पनि सच्चा नेपालीलाई स्यालुट गर्छु, वास्तविकता लुकाएर आफू नेपाली नागरिक भएको नाटक गर्नेलाई म कहिले नेपाली ठान्दिन । म फेरी पनि भन्छु – सच्चा नेपाली भईदिनुहोला, नेपाल र नेपालीको शिर होच्याउने काम नगर्नुहोला । र पहिलो माया दिने मान्छे पनि मै हुनेछु, गलत गर्नेलाई सच्चिनका लागि गरिएको अनुरोधलाई गाली नठान्नु होला । यो मेरो कर्तव्य हो म मेरो कर्तव्य निर्वाह गर्छु, तपाई आफ्नो ठाउँबाट आफ्नो कर्तव्य निर्वाह गरिदिनुहोस् !***

तपाईको प्रतिक्रिया