मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं –  विजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । विजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत प्राधिकरणले विजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

चोरी नियन्त्रणका लागि विहीबार खटिएको विद्युत प्राधिकरणको टोलीले काभ्रेको मन्डनदेउपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।

सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले वडाध्यक्ष लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फार्ममा विद्युत प्रयोग गरेको पारेपछि उनलाई पक्राउ गरेको हो । लम्साललाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको थियो । उनी ४१ हजार २ सय ८७ रुपैंया जरिवाना तिरी शुक्रबार हिरासतमुक्त भएका छन् ।

यसैगरी राजविराज वितरण केन्द्रको टोलीले तिरहुँत गाउँपालिका ५ का वडाध्यक्ष चौधरीले हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला पारेको थियो ।

टोलीले वडाध्यक्षसहित हुकिङ गर्ने २१ जनालाई पक्राउ गरेको थियो । चौधरीले १५ हजार जरिवाना तिरी छुटेका थिए ।

तपाईको प्रतिक्रिया