शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौं –  अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्ट व्यक्त गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्दै बजेटप्रति महासंघले असन्तुष्टि जनाएको हो ।

बजेटका केहि पक्षहरु राम्रा भए पनि अपेक्षा अनुसारको बजेट नआएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो । कृषि, उर्जा तथा पर्यटन क्षेत्रका लागि राम्रै भए पनि उद्योग वाणिज्य क्षेत्रका लागि बजेटमा धेरै कुरा नसमेटिएको उहाँले बताउनुभयो ।

बजेट करदातामैत्री नभएको आरोप समेत अध्यक्ष राणाले लगाउनुभएको छ । ‘अर्थमन्त्रीज्यूले विभिन्न समस्याबाट पिरोलिएका उद्योगधन्दाहरुका अनुभुति हुनेगरी लगानीमैत्री, करदाता मैत्री योजनाहरु समावृश गर्नुहुन्छ भन्ने आशा थियो’ अध्यक्ष राणाले भन्नुभयो– ‘कम्तीमा बजेटमा भन्सारमा एक तहको छुट प्रदान गर्नेसम्मको पनि प्रयास नभएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘मुअकरलाई अप्रत्यक्ष करको एकल करको रुपमा अगाडि सारी अन्तशुल्क लगायत विभिन्नशुल्कहरु हटाउने नीति विपरित अन्तशुल्क लाग्ने सामानहरुको फेहरिस्त बढ्दै जानु र विभिन्न नामाकरण गरी उठाउने गरिएका शुल्कहरु हटाउनु पर्छ भन्ने हाम्रो धारणा छ’ – अध्यक्ष राणाले भन्नुभयो।

अध्यक्ष राणाले ५ वर्षभित्र ५ लाखलाई रोजगारी र आर्थिक वृद्धि ८ प्रतिशत गर्ने कुरा सुनदामा कर्णप्रीय भएपनि व्यवहारमा निकै चुनौतीपूर्ण र मुस्किल रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रसँगको सहकार्य बिना सो कार्य असम्भव हुने दावी समेत गर्नुभयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गौल्छाले सरकारले निजी क्षेत्रले दिएको अधिकतम् सुझावहरु बजेटमा नसमेटेको गुनासो गर्नुभयो । उहाँले अपेक्षा गरिए अनुसारको बजेट आउन नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया