गृह मन्त्रालय सम्हालिसकेका माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत यसपटक वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा आइपुग्नुभएको छ । अन्य मन्त्रालयको तुलनामा यो मन्त्रालयको खासै चर्चा हुँदैन । तर, पनि देश संघीय संरचनामा गइसकेपछि वन र वातावरण मन्त्रालय गाभिएर बनेको यो मन्त्रालयलाई कमजोर भने भन्न मिल्दैन । बस्नेत वन तथा वातावरण मन्त्रीसँगै एमाले र माओवादी पार्टी एकता प्रक्रियाका लागि वैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलका सदस्य पनि हुन् । यसै सन्दर्भमा मन्त्री बस्नेतसँग प्रदूषणले आक्रान्त जनतालाई राहत दिने भिजन के छन् र पार्टी एकता प्रक्रिया कसरी अघि बढ्दैछ भनेर नृप रावलले गरेको कुराकानीको सम्पादित अंशः–
वन तथा वातावरण मन्त्रालयको चर्चा कम भए पनि काम चुनौतीपूर्ण छ, यसलाई कसरी लिनुभएको छ ?
काम गर्न सजिलो छैन तर, सबैसँग समन्वय गरेर सजिलो तवरणले जिम्मेवारी पूरा गर्ने हो । चुनौती पनि धेरै छन्, वन र वातावरणको क्षेत्रमा । प्रदूषण बढ्दै गएको छ, वन क्षेत्रको अनियमितता पनि उस्तै छ । यी सबै चुनौतीकाबीच काम गर्न योग्य ठानेर नै मलाई यो जिम्मेवारी दिएको हो र जिम्मेवारी पूरा गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।
देशका मुख्य–मुख्य सहरमा प्रदूषण बढ्दैछ, त्यसमा पनि काठमाडौंवासी त प्रदूषणले आक्रान्त नै छन् । प्रदूषणलाई हटाउन तपाईंसँग के–कस्ता योजनाहरु छन् ?
यसका लागि प्रयासहरु नभएका होइनन् तर पनि हाम्रो वातावरणको एजेण्डा जलवायु परिवर्तनतर्फ बढी केन्द्रित भयो । राष्ट्रिय रुपमा पारिरहेका प्रभावका विषयमा हामी सजग हुनुपर्ने बेला आएको छ । तसर्थ अन्तर्राष्ट्रिय जगतमा जलवायु परिवर्तनसँग सम्बन्धि सन्धि–सम्झौतामा पक्ष राष्ट्रका रुपमा गरेका प्रतिबद्धतालाई समेत ध्यान दिँदै एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गर्ने पक्षमा हामी छौं । त्यस सँगसँगै हामीसँग वायु प्रदूषण, फोहोरमैला व्यवस्थापन लगायत केही राष्ट्रिय एजेन्डा पनि छन् । यसलाई हामीले ध्यानमा राखिरहेका छौं ।
विशेषगरी धुलो र धुवाँले वातावरण प्रदूषण उच्च देखिएको छ । ठोस कार्यक्रम के छन् ?
२०७५ मा प्रदूषणरहित वातावरण निर्माण गर्ने, स्वच्छ नेपाल निर्माण गर्ने एउटा वार्षिक कार्यक्रमसहित अगाडि बढ्न खोजिरहेका छौं । हामी निर्माणको चरणमा छौं । अबको एकाध महिनाभित्रमै सरकारी, गैरसरकारीलगायत आम जनतालाई पनि समेट्ने गरी एकीकृत अभियान सुरु गर्दैछौं । त्यो अभियान एक वा दुई दिनका लागि होइन, एक वर्षका लागि सुरु गर्छौं । त्यो अभियानमा विशेषतः सरसफाइ, वृक्षारोपण, फोहोर व्यवस्थापनका कार्यक्रमहरु पर्छन् । धुलो–धुवाँलाई निराकरण गर्ने विषयहरु त्यस अभियानमा पर्छन् । प्रदूषणमुक्त नेपाल बनाउने योजना अन्तर्गत अभियान सुरु हुनेछ ।
उसो भए प्रदूषणले आक्रान्त बनेका जनताले मास्क नलगाई हिँड्न कहिले पाऊलान् ?
हेर्नुस् यो वातावरणको विषय भनेको घरघरको विषय हो । किनकि, संविधानमा नै स्वच्छ वातावरणमा जिउन पाउने कुरा मौलिक हक अन्तर्गत राखिएको छ । तर सबैले देख्ने काठमाडौं भएकाले यहाँको चर्चा बढी हुने गरेको छ । यस समस्यामा हामी एक वर्षमा उल्लेखनीय सुधार गर्नेछौं । देखिने खालकै सुधार गर्नेछौं ।
हरियो वन, नेपालको धन’ भनिन्छ । तर धनकै रुपमा वनको योगदान कमैमात्र देखिन्छ, के अब योगदान बढ्ला ?
हामीले अब देखिने गरेर वन क्षेत्रबाट कति रोजगारी सिर्जना गर्न सक्छौं, त्यसका लागि लक्ष्य निर्धारण गर्दैछौं । साथै, वन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान गर्न सक्छ प्रक्षेपण गर्छौं । जे होस्, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न वन क्षेत्रले गर्नुपर्ने योगदानलाई स्थापित गर्छौं । ४५ प्रतिशत भूभाग वन क्षेत्रले ढाकेको नेपालमा बाहिरबाट काठ आयात गर्नुपर्ने स्थिति हुनु भनेको लज्जाजनक स्थिति हो । हामी त्यो स्थितिको अन्त्य गर्नेछौं । त्यस्तै, वनमा पाइने जडिबुटीको पनि सदुपयोग गर्ने प्रभावकारी नीति बनाएर धेरैका निम्ति रोजगारी सिर्जना गर्न सकिन्छ । अहिलेसम्मको वन नीति बढी संरक्षणमुखी भयो । हामी संरक्षणको साथसाथै उचित उपयोगको सन्तुलन पनि कायम गरेर अघि बढ्ने कुरामा प्राथमिकता दिने छौं ।
तपाईंले वन उपयोगलाई बढी चर्चा गर्नुभयो । यसको विस्तारका लागि पनि पहल गर्नुभएको छ ?
वन क्षेत्रको संरक्षण, उपयोग र विस्तार नै गर्ने हो । मैले वन क्षेत्रको उपयोगको कुरा गरिरहँदा अहिले नेपालमा भएको वन क्षेत्रभन्दा केही मात्रै प्रतिशत भए पनि बढाउने छौं । यसमा ढुक्क हुन आग्रह गर्छु । अर्काेतर्फ हामी संघीय संरचनाको अभ्यासको सुरुवाती चरणमा छौं । त्यसैले सामान्य असमझदारी र अलमल देखिनु स्वभाविक हो । त्यसले असमझदारीलाई बढाउने भन्दा पनि हल गर्नेतिर ध्यान दिनु जरुरी छ ।
प्रसङग फेरौं, तपाईं वाम एकताको एउटा कार्यदलको सदस्य पनि हो । पछिल्लो समय वाम एकतामा केही गतिरोध आयो भनिन्छ नि ?
पार्टी एकता गर्ने भनेर हामीले भनिसकेका छौं । त्यहिअनुसार एकता प्रक्रिया धेरै अघि बढिसकेको छ । पछिल्लो समय केहि संवादहिनताको अवस्था आएको हो तर त्यो हुँदैमा पार्टी एकतामा शंका गरिहाल्नुपर्ने कुनै कारण छैन । प्रधानमन्त्रीको भारत भ्रमण पछिको पहिलो पार्टी एकता संयोजन समितिको बैठक पनि सकारात्मक बनेको छ । पार्टी एकताका कुनै अवरोध छैन
तर बैशाख ९ मा हुने भनिएको पार्टी एकता घोषणा त लगभग ट¥यो भन्छन् नी पार्टीभित्रकै नेताहरु ?
मिति सर्न सक्छ तर, पार्टी एकता टर्दैन । पार्टी एकताको स्पिरिटमा हामी सबै अगाडि बढिरहेका छौं । काम गर्दै जाँदा ९ को ठाउँमा ८ वा १० मा पनि हुन सक्छ । केहि विवादित विषयमा छलफल गर्न समय लाग्छ सक्छ । त्यो जिम्मा शीर्ष नेतालाई दिइएको छ, ढुक्क हुनुस् पार्टी एकता हुन्छ ।
संगठनमा माओवादीले ५०–५० को अनुपात दाबी गरेपछि एकता अड्कियो भन्छन्, खासमा के हो ?
त्यस्तो होइन । यस्ता कुरा समझदारीमा मिल्दै जान्छन् । यस्ता सबै कुरा थाहा पाएरै हामी यहाँसम्म आएका हौं नि । एकता भनेको विलयको कुरा पनि होइन, त्यस्तो खालको मनशाय पनि होइन । विलय हुने वा गर्ने भन्ने कुरा होइन । दुवै पक्षले एकले अर्कोको अस्तित्व र आवश्यकता बोध गरेर यहाँसम्म आइपुगेको हो । केहि असहमति रहेको विधानमा जनयुद्ध शब्द लेख्ने–नलेख्ने र चुनाव चीन्हमा हो । यी दुबै विषयमा शीर्ष तहको छलफल जारी नै छ । त्यसैले सामान्य प्राविधिक कुराले पार्टी एकता प्रक्रियामा अवरोध आउँदैन ।
दोस्रो तहका नेताहरुको व्यवस्थापनको कुरामा सहमति जुट्यो कि बाँकी छ ? व्यवस्थापन भनेको कुरा पनि एक पटक गर्दैमा हुने होइन । यो निरन्तर व्यवस्थापन हुँदै जाने कुरा हो । निरन्तर व्यस्थापनका आफ्नै विधि र मान्यता छन् । पार्टी एकता नै भएर अघि बढ्ने बेलामा एकले अर्का अप्ठेरालाई बुझ्दै, अर्काका भावनालाई बुझ्दै अघि जाने कुरा हो । त्यसैले व्यवस्थापनका समस्या समाधान हुन्छन् ।
अहिले दुवै पार्टीमा गुटहरु निकै सक्रिय छन्, एकीकृत पार्टीमा गुट झन् धेरै हुने भए नि ?
गुट हुँदैन । अहिले पनि पार्टीमा गुट कहाँ छन् मलाई थाहा छैन । स्थायी गुट हाम्रो पार्टीमा छैनन् । कहिले कुनै नेताहरुले देखाउनुहुन्छ तर, त्यो पुष्टि भएको छैन । नेताले भनेको त्यही गुटको कार्यकर्ताले पनि मान्दैन । एमालेभित्र गुट छ भन्ने कुरा सुनिन्छ । जस्तोसुकै गुट भएपनि एउटा विधिमा आएर ति प्रतिबद्ध छन् । एमालेभित्र पनि विधि छ, विधिभित्र हुनेहरुले आफ्नो–आफ्नो कुरा राख्छन् जे निर्णय हुन्छ त्यो मान्छन् । त्यसकारण अब नयाँ पार्टीमा हिजोका गुट–उपगुट अन्त्य हुँदै जान्छन् ।