Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

प्रिय विद्वान मित्रहरू,

यहाँहरूको सदैव भलो र सुख चाहान्छु । केही समयबाट यहाँहरूले भन्ने गरेका जंगलीहरूको बारेमा केही मनका बहहरू पोख्ने प्रयत्न गरेको छु । पक्कै पनि पत्रको उत्तरको प्रतिक्षामा छु । उत्तर नआए पनि यसप्रतिको यहाँको उदासिनताले यहाँको भावी पुस्तासम्म पिरोल्छ भन्ने बुझेको छु । यो आतंककारी र जंगलीको चिठ्ठीको उत्तर दिने प्रयत्न गर्नुहुन्छ हुन्न तर जरूर यहाँको मानवीय संवेदनाप्रति मलाई लाज भएको छ । यहाँले कमाउनुभएको धनप्रति शंका लागेको छ मेरो विद्वान मित्र !

हो, हिजो देशमा ठूलो रक्तपात भयो, हजारौँ मारियौँ र मार्न बाध्य बनाईए । त्यो के ती आतंककारीहरूले मात्रै गरेका थिए  ? कि यहाँको कौरवमण्डली पनि यसरी नै सिर्जना भएको हो भन्ने तथ्य बिर्सनु भयो  ? अरूको बिरोध गर्दा कट्टुनै खोलेर गर्ने यहाँको बौध्दिकता कतै प्रायोजित त होईन  ? यदि यहाँले संसारमा जन्म र मृत्यु सम्वन्धी पनि धारणा बनाउन सक्नु भएको छैन  ? यदि त्यो पनि धारणा नभएको विद्वान हो भने त यहाँलाई भन्नु केही पनि छैन । कि आफूलाई अमर ठान्नु हुन्छ ? विज्ञानले नै प्रमाणित गरेको सत्यमाथि यहाँको सही दृष्टिकोण नदेख्दा कता कता मेरो समाजका यहाँजस्ता थुप्रै विद्नानहरूको मुखमा थुक्न मन लागेको छ मित्र !

यहाँजस्तो सुखद र वैभवशाली जीवन जिउन नसकौँला त्यो फरक र दु:खद् पाटो त छँदै छ मेरो मित्र तर सेतो र कालो सम्म भन्ने चेतना चाँही मसँग छ । कुनै पनि व्यक्ति हत्या राम्रो होईन ती जुनसुकै उद्देश्य लागि होउन् । जीवन सुन्दर छ र यो सुन्दरता जीवन रहंदा सम्म मात्रै रहन्छ । अजम्वरी त न हिटलर थिए, न जंगबहादुर थिए, न क्राईष्ट न त बुध्द नै । अनि के को तुजुकमा यो संसारलाई नै मैले बनाएको हुँ भनेर सोच्नु हुन्छ ? तपाई अहिले जुन प्रजातान्त्रिक विश्वमा हुनुहुन्छ, यो सबै मानवजातिको देन हो । यहाँको बाबाले मात्रै बनाई दिएको होईन । ईथोपियामा अझै पनि दासहरूको किनबेच हुनेरैछ । त्यस्तो मानवियता भएको विद्वान यहाँले तिनीहरूको बारेमा चाँही बोल्नुपर्दैन ? कि शक्ति र सत्ताको आडमा चलाईएका बिग मिडिया हाउसको पहेंलो पत्रकारिताबाट मात्रै धारणा बनाउनु हुन्छ ? जिसस क्राईष्टलाई पनि विध्यमान व्यवस्थाले आतंककारी नै बनाएको त थियो नि हैन र ? सुकरातजस्ता विद्वानहरू हेमलक सेवन गरेर मरेका थिए । कालान्तरमा त ती नै सुकरातको बारेमा पिएचडी गर्नेहरू धेरै छन् त किन ? सत्य प्रमाणित हुन केही समय लाग्छ प्रमाणित नभएको सत्य त असत्य नै हो, हैन र ? अनि यस्ता विषयहरूमा यहाँको कलम नचल्नु र केबल हामीजस्तै जंगलीहरू र अनपढ पाखेहरूको बारेमा मात्रै किन चल्छ ? सक्नुहुन्छ भने सबै बोलीहरूमा प्रतिबंध गर्न भन्नुहोस् । तपाईहरूको प्रायोजित मानवअधिकारको रटान अस्वीकार्य छ मेरो विद्वानमित्र ।

मजस्ता गवारं र गरिब परिवारमा जन्मेकाहरूलाई त यो दुनियाँमा बाँच्ने अधिकार त छैन । तथापि यो जिउँदो लाशजस्तो जीवन बिताउन बाध्य छु । यहाँलेजस्तो राष्ट्रियताको कक्षा लिएर डिभी भर्न लाईन कहिल्यै बस्न सक्दैनौँ हामीहरू । यहाँहरूले महापुरूप घोषणा गर्नु भएका हाम्रो देशका ठूलाहरूले देश बेचेको पनि मेरा बाले देखेका छन् रे ! विश्व नै लागेर मार्न र नरसंहार गर्न लाग्दा पनि नेपाली मोडेलकै शान्तिको लागि ठूलो त्याग गर्नेहरू मेरो बुढीले पनि भेटेकी छन् । सायद मेरो छोराले पनि उसका काकाकाकीहरूको बारेमा पढ्नेछ । विचारकै लागि नारकीय जीवन बिताएको उसको काका देखेर के भन्ला ? आफ्नो अगालो भरिको पहिलो पोई गुमाएकी उसकी काकीको बलत्कारको पीडा पनि त सुन्छ होला नि मेरो छोराले । मैले पनि विचार राखेकै आधार अंगभंग भएको र आफ्नैहरूको षडयन्त्र र तिकडमले पलायन हुनु परेको र विदेशमा भाँडा माझ्न पुगेको कुरा सुन्दा मेरो छोराको बालमनोविज्ञानमा के होला महोदय  ?

आज तपाई अरूको छोराहरू भिरबाट लडेको देखेर र हृदयघात भएको सुनेर जसरी भित्रैबाट खुशी हुनुभएको छ । सोच्नुस् त, ती कैयौँ छोराहरूजस्तै यहाँको सन्ततिलाई पनि त्यस्तै भयो भने के गर्नु हुन्छ ? अरूको ठाउंमा एकचोटी राखेर हेर्नु न मेरो विद्वान मित्र । तर, यहाँलाई यस्तो नहोस् कहिल्यै ।

यो पूजीवादी विश्वमा सत्य र न्यायको विजय त धेरै संभव छैन तर मेरा यी प्रश्नहरूको उत्तर कसले दिन्छ ? यो विश्वमा कुन चाँही ठाउँ छ जहाँ अन्याय नहोस् र विद्रोह नहोस ! सामाजिक मिडियाहरूमा जसरी हिजो यहाँ र यहाँका मित्रहरूले खुशियाली मनाउनुभयो, किन मेरो मित्र ? मलाई यहाँको उत्तर विस्तारै पाए पनि पश्चाताप छैन तर एउटा कुरामा चाँही पश्चाताप छ । त्यो के भने तपाँईहरूजस्ता एकपक्षीय विद्वानहरूले नै हो यो देशलाई मरूभूमि बनाउन खोज्नुभएको । तर, म यहाँको पाखे र जंगली साथी चैँ कहिल्यै पनि यहाँको छोराको मृत्युमा व्हिस्की पार्टी गर्नेछैन । खुशियाली मनाउने छैन । यहाँको आगामी दिनहरू सुखद् होउन् ।

शुभचिन्तक
लोकनाथ अधिकारी
हाल: जापान
मोवाईल ८१८०-९४१५-८७८९ ([email protected])

तपाईको प्रतिक्रिया