यहाँ व्यक्त गरिएका भाबहरु कसै प्रति लक्षित भने हैनन् । मैले यो कलम चलाउदै गर्दा कसैले यहाँ मैले ब्यक्त गरेको भाबहरुमा आफुलाई त्यो पात्र सम्झन पुग्यो भने त्यो संयोग हुनेछ । यदि साँच्चिकै आफुलाई त्यसभित्र नै पाएर गलत गरेको महशुस भएको खण्डमा आगामी दिनमा सुधारको कामना गर्नेछ भन्ने पक्कै आशा गरेको छु । गैरआवासीय नेपाली संघ जापान कान्साइको क्षेत्रीय समितिको अधिवेशन अर्थात निर्बाचनलाई लिएर अहिले सामाजिक संजालहरुमा विभिन्न किसिमका टिका टिप्पणीहरु भैरहेका छन जुन केही हदसम्म मेरो व्यक्तिगत बुझाइमा ठिकै पनि छन् । निर्बाचन समितिले आफुले तोकेको समय अबधिमा नै निर्बाचन शुरू गर्न प्रतिवद्धता जनाई निर्बाचन समिति संयोजक अर्थात् मैले सम्पूर्ण मतदाताहरुलाई
जानकारी गराई मतदान गर्न तयार रहन गरेको आग्रहको बाबजुद अत्याधिक मात्रामा मतदानको लागि उर्लेको जनलहरलाई सहमति नामको शब्दले परिणाम दिन नसक्दा आज सम्मको मेरो बुझाईको कान्साईको आम कार्यक्रम हरुको तुलनामा अत्यन्त लाजमर्दो खालको परिणति हुन पुग्यो ।
किन त्यस्तो भयो त त्यो दिन?
एनअारएनए कान्साईको निर्बाचन समिति बनेर हामीहरुले जिम्मेवारी बहन गर्दै गरेको अबस्थामा शुरुवातिका दिनदेखि नै कुनै पनि हालतमा चुनाब त गर्नै हुदैन जसरी हुन्छ मिलाएर लानु पर्छ, यदि चुनाब भएको खण्डमा हामीहरुबीचको एकतामा फुट आउँछ भन्ने खालको नाराहरु उमेरले मात्र उकालो लागेका तर संस्कार र वुद्धीले माथि उठ्न नसकेका अग्रजहरुले ढोल पिट्दै गए । यसरी ढोल पिट्दै जाने क्रममा हामी बिचमा विभिन्न चरणमा उम्मेदवार, कार्यसमिति, निर्बाचन समितिका बैठक र चरणवद्धरुपका छलफलहरु नभएका भने हैनन् तर अधिकांश सबै छलफलमा जसरी हुन्छ चुनाब त गर्नु हुदैन सहमतिमा ल्याउनै पर्छ भन्ने कुराहरु दोहोरिरहँदा परिणाम भने शुन्य नै रह्याे । यस्ता किसिमका बादबिबादहरु चलिरहँदा यदी उम्मेद्वारहरु बिचमा आपसी सहमति नभएको खण्डमा चुनाब गराउनु निर्बाचन समितिको नैतिक धर्म हो र म आफु त्यसमा प्रतिवद्ध छु । आपसी समझदारीमा नमिलेको खण्डमा जसरी पनि चुनाब गरेर नै निस्कर्षमा पुग्नु पर्छ भन्ने मेरो अडानलाई सकारात्मक तरिकाले हामी भित्रबाट नबुझिदिंदा म लगभग एक्लिसकेको र यहाँको समाजमा मैले मात्र नभएर मलाई र मेरो चरित्रसँग राम्रोसँग परिचितहरुले समेत सोच्न र कल्पनै गर्न नसकिने गरी मेरो बिरुद्ध रातारात यति धेरै नकारत्मक समाचारहरु
फैलाईयाे कि जुन मैले जीवनको कुनै कोणमा पनि कल्पनै गर्न सकेको थिइन् । मेरो समाजसेवा र जनसेवाप्रतिको इमान्दारिता लगनशीलता र त्यसको प्रतिफल समाज, देश र संस्थाले हासिल गरेको प्रगतिबाट जलेका केही अभिस्ट सोच भएकाहरुको कुनियतले गर्दा अत्यन्तै सुनियोजित तरिकाले कान्साईबासी नेपालीहरुको र विश्वव्यापी संजाल एनअारएनएप्रति विश्वास गरेर आफ्नो अमुल्य समय र पैसा खर्च गरेर मतदानको लागि आउनु भएका सम्पूर्णको भावनामा कुठाराघात भयो र त्यसको सम्पूर्ण दोष म एक्लो माथि थोपर्ने खालको अत्यन्त घृणित काम भयो । मेरो कार्य प्रगतिबाट जलेकाहरुले मलाई असफल गराउन खेलेको षड्यन्त्रले मेरो कार्यसमिति भित्र जोडिएका उनीहरुको इज्जत अनि हामी सबैसंग जोडिएको संस्थाको इज्जत संस्थालाई माया गरेर आफ्नो अमुल्य समय खर्चिएर आउने मतदाता शुभचिन्तकहरुको इज्जतको ख्याल नै गर्न सकेनन र उदण्डताको चरम स्थिति सिर्जना गरी त्यसको समाधानमा लाग्नुको साटो लगभग म एक्लैलाई त्यो परिस्थितिमा छोडी एउटा कुनाबाट रमिता हेरेर बसिरहे ।
अधिवेसनको कार्यतालिका हामीले ३, ४ दिन अगाडि नै एनआरएनए कान्साईको अफिसियल फेसबुक, विभिन्न मिडिया र भाईबर ग्रुपबाट प्रकाशित गरिसकेका थियौ । अन्तिम परिस्थितिसम्म समझदारी बन्न नसकेको खण्डमा निर्बाचन गराउन हामी (बिशेष गरी म ) प्रतिवद्ध थियौ । दिनकाे १२:३० बाट कार्यक्रम शुरू गरी निर्बाचन १५:०० देखि शुरु गर्ने भनि हामीले गराएको जानकारी अनुरुप नै हामी तयारीमा तल्लिन थियौ । त्यसदिन १२:३० बाट शुरु गर्ने भनिएको कार्यक्रम आधा घण्टा ढिला गरी १३:०० बाट शुरु भयो । अधिवेशन को दिन अर्थात् निर्बाचन हुने दिन बिहानको छलफलसम्मको स्थिति आउँदा संयोजकका तीन दाबेदार मध्ये एक दाबेदारले लिखित रुपमा आफु पछि हट्ने जानकारी गराई सक्नुभएको थियो जुन मैले निर्बाचन समितिको अन्य सदस्यहरुलाई भेट हुने बित्तिकै जानकारी गराइसकेको थिएँ ।
अन्तताेगोत्व दुइ जना संयोजक बीच प्रतिस्पर्धा हुने भएपछि म आफु सिंगो निर्बाचन समिति र संस्थाको इज्जत, आगन्तुक मतदाताहरुको मताधिकारको कदर गर्दै निर्बाचनको अन्तरिक तयारीमा लगेर उद्घोषकलाई जसरी पनि १५:०० बाट निर्बाचन शुरु गर्नको निम्ति १४:४५ सम्म कार्यक्रम सक्न अनुरोध गरें जसको लागि हामीले धेरै आगन्तुक अतिथिहरुको मन्तब्य र संस्थाको प्रगति विवरण आर्थिक विवरणको तालिका समेत छोटो बनायौं । प्रतिवद्धता अनुरुप नै मैले निर्बाचन समितिको संयोजकको हैसियतले १४:५० मा सम्पूर्ण उपस्थितलाई सम्बोधन गर्दै १५:०० देखि मतदानको लागि तयार हुन जानकारी गराउँदै कार्यसमिति र स्वयमसेवकहरुलाई आबश्यक सहयोगको लागि अनुरोध गरें यति अनुरोध गरेपछि अन्य तयारी पूर्व योजना अनुरुप भयो होला भनेर म आफु मतदाता पत्र लगायतको तयारी मत पत्रमा सही गर्ने तयारी सहित अन्य निर्बाचन समिति सदस्यहरुलाई अावश्यक कार्यको लागि अनुरोध गर्दै गरेको अबस्थामा भन्न पनि लाजमर्दो गरी त्यतिखेर आएर उम्मेदवारको परिचयपत्र, स्वयंसेवकको परिचयपत्र लगायतको अत्यावश्यक कुराहरु नभएको अर्थात् हराएको जानकारी आयो र त्यो संगै भोटिंग हुन केही समय मात्र बाँकी रहँदा र म आफु पनि मत पत्रमा सही गरेर आउने मतदाताहरुलाई मतपत्र दिंने अन्तिम तयारीमा रहेको अबस्थामा अचानक हैन ! यहाँ त चुनाब भयो भने झन् अप्रिय स्थिति हुन्छ हामी बिचको भाइचारा बिग्रन्छ जसरी पनि मिलाउन पर्छ १० मिनेटको समय दिनुस भन्ने कुरा त्यहाँबाट निक्लियो । शुरुवातिका दिनदेखि नै चुनाब भए अभिस्ट हुन्छ भन्दै भ्रामक कुरा हरु आइरहेको परिप्रेक्ष्यमा तत्कालिन परिस्थिति लाइ मध्यनजर गर्दै त्यतिखेरको अग्रजहरुको एकोहोरो ढिपी र उम्मेदवार लगायतको बहुमतिय
इच्छा अनुरुप संयोजकको मिलेमा अरु तत्काल नै मिल्छ भन्ने भनाईले मलाई पनि चुप लाएर मागे अनुरुपको १० मिनेटको समय कुर्न बाध्य गरायो ।
निर्बाचन शुरु हुने समय हुँदै गर्दा हाल सम्म पनि हुन नसकेको सहमतिको नाटक मन्चन हामी भित्र हुँदै थियो । हल भित्र भन्दा पनि हल बाहिर नेपालीहरुको गरिमा र इज्जतलाई नै दाग लगाउने गरी विभिन्न अपशब्द र अपाच्य शब्दहरु प्रयोग गर्दै निर्बाचन नै भए पनि हुन नदिने अर्को नाटक मन्चन गरिंदै थियो । जुन हामीले कल्पना गरेको कान्साइको नेपाली समाजको आज सम्मको अभ्यासभन्दा नितान्त पृथक र
घृणित थियो । यसै क्रममा १० मिनेटको समयले ३० मिनेट नाघेपछि दुईजना संयोजकहरुको बीच क्रमशः एक-एक बर्ष चलाउने गरी सहमति गरियो जुन विधानको बिपरित त थियो नै संस्थामा १० बर्षदेखि नीति नियम र बिधि बिधानका कुराहरुमा अत्यन्त संबेदनशील भएर आवाज उठाउँदै आएको मेरो लागि पनि अपाच्य थियो । तथापि यति गर्दा यदि सम्पूर्ण कुराहरु मिल्छन भने सामाजिक संस्था हो यहाँ हामी सबै दिन नै भनेर आएका छौं लिन आएका हैनौ कहिलेकाहीं सामाजिक सन्तुलन, भाईचाराको कुराहरुलाई प्राथमिकता दिंदै बिधि बिधान र नीति नियमका कुराहरुलाई तरल अबस्थामा राख्नु पर्ने परिस्थिति पनि हुँदो रहेछ भन्ने सोचले मेरो एक्लो मनले दिंदा नदिंदै पनि तत्कालिन उपस्थितहरुको बहुमतिय सोच र उम्मेदवारको इच्छा अनुरुप यो अप्रिय निर्णय गर्दै हामी उपसंयोजक तर्फ लाग्यौं। केही बादबिबादको बीच उपसंयोजकको टुंगो लागेपछि बहुप्रतिक्षित बनाइएको कोषाध्यक्षको लागि सहमति गर्ने क्रममा कोषाध्यक्षको एक पदको लागि ६ जनाको परेको उम्मेदवारीमा सहमति हुन सकेन । संयोजकको जसरी भएपनि मिलेपछि अरु त्यतिकै मिलाउन सकिन्छ भनेर अडान लिनेहरुको भूमिका वास्तविक समय आएपछि न्यून रहयो । त्यो क्रमसंगै समय गुज्रिदै गयो, यो बिचमा उपस्थित जनसमुदायलाई के कस्तो भैरहेको छ भनि जानकारी गराउन अनुरोध गर्दै गर्दा कार्यसमिति र निर्बाचन समितिको अन्य अग्रजहरुले माइक समाएर उपस्थित समुदायलाई जानकारी गराउनको साटो तातिएको माहोललाई अझै बढी उछृङ्खल बनाई रमिते भएर बस्नु भयो । बिधिबत रुपमा तय गरिएका स्वयम् सेवक समिति र कार्यसमिति पनि अधिकांश परिस्थितिको समाधानमा लाग्नुको साटो रमिते भएर बसे । समय अनुकुल उपस्थित महानुभाबहरुलाई सम्बोधन गर्न नसक्नु पनि निर्बाचन समिति (हाम्रो) गम्भीर कमजाेरी थियो । यस्तो परिस्थितिमा मतदान गर्न उपस्थित जनामनास कुनै पनि जानकारी बिना दिनभरी एउटा हलभित्र बाँधिनु पर्दा निर्बाचन समितिप्रति आक्रोशित हुने कुरालाई मैले स्वाभाविक रुपमा लिएको छु । किनकी त्यो दिनको त्यस परिस्थितिमा म उहाँहरुको ठाउँमा भएको भए पनि स्वभाभिक रुपमा आक्रोशित हुने थिएँ होला तर त्यो आक्रोशलाई उदण्डतामा दर्ज गराएर नेपालीहरुको इज्जतमा दाग लगाउने काम गर्ने की अनुशासन र इज्जतमा रहेर गलत कुराको तार्किक तरिकाले बिरोध गर्ने त्यो सम्बन्धित व्यक्तिको बिबेकमा भर पर्ने कुरा हो ।
परिस्थितिले उग्र रुप लिंदै गर्दा अधिकांश उदण्डतामा उत्रिएकाहरु निर्बाचन समिति र मत हाल्न नपाएको आक्रोश भन्दा पनि मलाई व्यक्तिगत दुश्मन सम्झिएर म प्रति एकल कटाक्ष गरिरहेका थिए । अधिकांश मैले राम्रोसँग नचिनेका र नदेखेका केही अनुहार हरुले पनि मादक पदार्थ सेवन गरेकाे तालमा आफ्नो होस् गुमाएर घोकाइएको शब्दहरु प्रयोग गर्दै नितान्त मेरो बिरोध गरिरहेको देख्दा म आफु पनि एकछिन रनभुल्लमा परको थिएँ । म प्रति लक्षित गरेर यति ठूलो षड्यन्त्र हामी भित्रैबाट रचिएको रहेछ जुन मैले जिन्दगीको कुनै कुनामा समेत कल्पना नै गर्न सकेको थिइन । सबैलाई आफन्त र आफ्नो सम्झिने मेरो कमजोरीको फाइदा उठाएर मेरो बारेमा भ्रामक समाचार फैलाई मदिराको नशामा केही व्यक्तिहरु खरीद गरी जुन किसिमको शब्दहरु घोटाएर उदण्डता सिर्जना गराउदै गर्दा संयोजकको मिलाएपछि जसरि पनि अरु मिलाउँछु भनेर मसंग अडिग लिनु हुनेहरु उहाँहरुको कटुत षड्यन्त्रमा म फस्छु कि फस्दिन अथवा कसैले म माथि अप्रिय स्थितिको सिर्जना गर्छन कि गर्दैनन् भनेर माहोल मिलाउन प्रयास गर्नुको साटो कोल्टे परेर रमिता हेरेर बसिरहनु भएको त्यो दृश्य शब्दमा व्यक्त नै गर्न नसकिने खालको थियो ।
पाँच सदस्यीय निर्बाचन समितिमा किन यति धेरै नरेन्द्र बस्नेत (दिनेश) प्रति मात्रै आक्रोशित ?
विश्वव्यापी संजालको एनआरएनए एउटा माउ संस्था भएको नाताले यसले सबै क्षेत्र र वर्गलाई समेट्नु पर्छ । यसमा कुनै जात-जाति क्षेत्रीय र बर्गीय बिभाजनका कुराहरु गरिनु हुँदैन र यसले सम्पूर्ण संघ-संस्थालाई मिलाएर सहकार्य गरी अगाडि बढ्नु पर्छ भन्दै बुलन्द आवाज उठाउँदै आएको मलाई यस संस्थाको गरिमा नबुझेर पैसाको दम्भमा संस्थालाई जातियता, राजनैतिक र क्षेत्रीयतातिर धकेल्न खोज्नेहरुको म शत्रु भैसकेको रहेछु जुन मैले कुनै पनि कोणबाट कल्पना पनि गर्न सकेको थिइन । सहमति नभएमा निर्बाचन गराउनै पर्छ भन्ने शुरुदेखिको मेरो अडानलाई असफल पार्नलाई रातारात रेष्टुरेण्ट लगायत बिभिन्न ब्यबसायमा अावद्ध दाजुभाइहरुलाई नरेन्द्र बस्नेत (दिनेश) भन्ने मानिसले कुकहरु भने पछि देखि सहँदैन, कुक भन्यो कि हेला गर्छ यसलाई ठीक पार्नु पर्छ भनेर म विरूद्ध भ्रामक समाचारहरु फैलाई सुनियोजित तरिकाले मानिसहरु उतारिएको रहेछ । एक क्यान बियरमा बिक्नेहरु, अथवा समाजको अगुवाई गर्छु भन्ने नौटंकी फटाहाहरुको जालमा परेर अन्जानमा जुन व्यक्तिहरु म माथि उर्लिएर लाग्न खोजे ढिलो चाडो तिनीहरुले मेरो बास्तबिकता थाहा पाएपछि आत्मग्लानी भने पक्कै गर्ने छन् ।
कुक दाजुभाइहरुको बिषयमा अलिकति लेख्न चाहें, म आफु एनआरएनए कान्साइको संयोजक भएर २०१३-२०१५ को कार्यकाल चलाउँदै गर्दा मैले त्यतिखेरको कार्यसमितिको सहयोग लिएर जापानमा बसोबास गर्दै आएर बिशेषगरी रेष्टुरेण्ट ब्यबसायमा आबद्धहरुको परिवार सुत्केरी भएको खण्डमा त्यो परिवार यदि एनआरएनए जापानको सदस्य रहेको अबस्थामा सहयोग स्वरुप २०,००० येन दिने भनेर निर्णय गरेको थिएँ । त्यो निर्णय अनुरुप वागलुङ निवासी कुक पेसामा आबद्ध गगन बहादुर गौतमकी श्रीमती पुष्पा के.सी गौतमलाई २०,००० येन प्रदान गरिएको थियो । तर त्यो योजना तत्कालिन कार्यसमित र सल्लाहकार लगायतको अधिकांश रेष्टुरेण्ट ब्यबसायीहरुको कार्यसमितिले बन्द गर्नु पर्छ भन्ने विचार आएकोले यसलाई बन्द गर्न हामी बाध्य भयौ । यसरी कुक दाजुभाइहरुको र उहाँहरुको परिवारको लागि थोरै भए पनि राहत होस् भनेर कार्य गर्ने मलाई भ्रामक रुपमा अकल्पनीय दोष लगाएर म बिरुद्ध अन्जान पात्रहरु उतार्ने जुन गलत प्रयास गरियो त्यसको जतिनै बिरोध गरेपनि कम हुन्छ ।
नेपालको पुर्बी भेगको बासिन्दा भए पनि विभेदित सोच नराखी राष्ट्रिय मनलाई संगालेर एनआरएनए कान्साइको आयोजनामा नयाँबर्ष धमाकामा मलाई जिम्मा दिएको कार्यक्रम संयोजकको जिम्मालाई सफलताको साथ निर्बाह गर्दै वागलुङको अस्पतालको लागि अत्याधुनिक स्वास्थ्य सामग्री खरीदको लागि १३ लाख बराबरको रकम जम्मा गरी वागलुङवासीहरूकाे लागि सहयोग गरियो त्यसलाई पनि वागलुङवासीहरूकाे हित नचाहने वागलुङ भित्रकैहरुले बिभिन्न अवराेधहरू गरे । संस्थाको उन्नति प्रगति र सामाजिक एकता नचाहने र मेरो ईमान्दारिता र लगनशीलताबाट डराएकाहरुले क्षणिक पैसाको दम्भमा म एकल व्यक्तिलाई असफल गराउन रचेको यो सुनियोजित खाल्डोमा आम जनमानसलाई राखी मेरो त बदनामी गराउने प्रयास गरे गरे साथमा उनीहरु स्वयम् र संस्थालाई समेत बदनामी तिर धकेले ।
एनआरएनए कसैको बाउको बिर्ता हैन यो आफ्नो समय, ज्ञान, सीप र समय खर्चिएर गर्ने विशुद्ध भाेलेन्टियरी अभियान भएकोले यसमा स्वतस्फुर्त लाग्न चाहने जो कोही पनि लाग्न सक्छ र लाग्न पाउने वातावरण अभियानमा लागेका हामीहरु जस्तोले देखाउन सक्नुपर्छ । मैले आफुले चिनेका जानेका र थाहा भएसम्मका हरेक व्यक्ति संघसंस्थाहरुलाई यो अभियानमा निस्वार्थ जोड्ने प्रयास गरें, ज-जसले मेरो पछाडि मेरो बिरुद्ध कपोकल्पित कुरो गरे, उनीहरुको पनि सहयोग गर्दै गएँ । विभिन्न भिसामा जापानमा आफ्नो कर्म गरिरहेका व्यक्तिहरुबाट आउने समस्यालाई प्रत्यक्ष चिने पनि नचिने पनि सकेको जानेको बुझेको सहयोग गरें ।मेरो निस्वार्थ कर्मबाट जलन भएकाहरु आफु मात्र माथिल्लो ठाउँहरुमा पुगौं, आफ्नो परिवार, वरपरका प्रतिभा, क्षमता भएकाहरु कदापी माथि उठ्न नपाउन भन्ने संकुचित मनस्थिति भएकाहरुले आज मलाई असफल गराउने षड्यन्त्र रचेर म संगै संस्थाको बदनामी गराउनुको साथै यसप्रति आस्था राख्ने धेरैको मुटुमा छुरा रोपेका छन् । मेरो बारेमा भ्रामक कुरा गर्ने समाजसेवी नामधारीहरुलाई त मेरो भन्नु केही छैन, यद्दपि मेरो बारेमा भ्रामक कुराहरु सुनेर म प्रति नकारात्मक सोच राख्नुभएकाहरु म सँग प्रत्यक्ष भेटेर सत्य तथ्य बुझ्ने अथवा अन्तरंग गर्ने हिम्मत राख्नु हुन्छ भने कुनै पनि बेला मलाई निर्धक्क सम्पर्क गर्न सक्नुहुनेछ । कुनै पनि कुरा या व्यक्तिको समर्थन या बिरोध गर्दा एक क्यान बियरमा आफ्नो इज्जत लिलाम गरी अन्धाधुन्द लाग्नुको साटो सत्य तथ्य बुझेर अगाडि बढ्ने संस्कारको बिकास गरौं । यिनीहरुको हर्कतमा नै म आफु उत्रनु पर्यो भने त्यो दिन नितान्त म प्रति मात्र खनिने र म बिरुद्ध षड्यन्त्र रची उपस्थित मतदाताहरुको अधिकार हनन गर्न अदृश्य भूमिका निभाउनेहरुको कुण्डली उतारेर उपचार गर्न सक्ने क्षमता मैले राम्रोसंग राख्छु तर त्यो मेरो आदर्श र सिद्धान्त अनि नैतिक आचरणले नदिने भएकोले ढिलोचाँडो त्यस्ता पात्रहरुले मेरो बारे सत्य तथा थाहा पाएर आत्मा ग्लानी गर्नेछन् भन्ने कुरामा म विश्वास्त छु ।
अन्त्यमा विविध आरोह अवरोहको बाबजुद नयाँ कार्यसमितिले पूर्णता पाएको छ । एक संयोजकले आफु बाहिर बसी सहयोग गर्छु भनेर उदाहरणीय कार्य गरी २ बर्षे कार्यकाल एक जनालाई नै गर्ने गरी ढोका खोलि दिनु भएको छ । यो सुनौलो मौकालाई सदुपयोग गर्दै त्यत्रो बलिदान दिने सहयात्रीलाई संगै हिडाएर अझ चुस्त तरिकाले कार्यसमिति अगाडि बढ्न सकोस अनि अधिवेशनको दिन उदण्डता देखाउने व्यक्तिहरुलाई एक भेलाको बीच राखी आगामी दिनहरुमा त्यस्ता खालका गतिबिधिहरु नदोहोरिने गरी छलफल अगाडि बढाईयोस र अधिवेशनका तीतामीठा कुराहरु पोख्दै त्यसताका भएका गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नको लागि तत्काल एउटा समिक्षा बैठक राखी कार्य अगाडि बढाईयोस भनि जोडदार माग पनि गर्दछु ।***