मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाउनुभयो ।

विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो ।

त्यसैले उहाँले नवनिर्वाचितलाई बधाई दिन आयोजित कार्यक्रममा धेरै समय पार्टीभित्रको अन्तर्घातबारे बोल्नुभयो ।

‘गौरादहजस्तो ठाउँमा एमालेले मेयर हार्ने कुरा सोच्न सकिन्छ ? तर हारियो, किन हारियो भन्दा हाम्रैले हराए,’ निर्वाचित नेता र अधिकांश अगुवा कार्यकर्तामाझ ओलीले प्रश्न गर्नुभयो, ‘बुधबारे भनेको उहिलेदेखि नै हाम्रो किल्ला हो ।

२०४९ र २०५४ मा हामीले शतप्रतिशत जितेको होइन ? त्यस्तो ठाउँमा जिल्ला अध्यक्षजस्तो प्रतिष्ठित नेता एउटा गाउँपालिकामा हार्नुभो, त्यहाँ हार्ने ठाउँ हो ? नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न । पार्टी उम्मेदवार हराउनेहरू एमाले होइनन्, तिनीहरूको यो पार्टीमा स्थान छैन ।’

ओलीले झापामा गरेको विश्लेषण एमालेले अपेक्षा गरेअनुसारका सिटमा विजय हासिल गर्न नसकेको छटपटी देखाउँछ । दुई चरणकै चुनावबाट एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको छ । तर पार्टी नेताहरूमा पहिलो हुनुको खुसी सँगसँगै आफ्नो पकड रहेका स्थानमा हार्नुको पीडा उत्तिकै झल्किन्छ ।

दुई चरणको चुनावमा गरी एमालेले प्रमुखमा २ सय ७४ सिट जितिसकेको छ । तीन स्थानको मतगणना जारी छ । हालसम्म प्राप्त परिणामअनुसार उपप्रमुखमा भने एमालेले ३ सय ९ सिटमा विजय हासिल गरेको छ । अर्थात् प्रमुखमा भन्दा ३२ वटा बढी सिटमा एमालेले उपप्रमुख जितेको छ ।

प्रमुखले हार्ने र उपप्रमुखले जित्ने यो शैलीभित्र पार्टीभित्रको अन्तर्घात, उम्मेदवार चयनको गडबडी मुख्य कारक रहेको नेताहरूको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया