मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

अछाम – साँफेबगर–७ अछामकी थिउरी लोहारको उमेर १९ बर्ष पुग्यो । ‘टिन’ समूहकी उहाँका दुई सन्तान छन् । २० बर्ष नपुग्दै दुई छोराकी आमा बन्नुभएकी उहाँलाई अब थप सन्तानको रहर छैन् । त्यसैले उहाँले एक महिनाअघि नेपालगन्ज पुगेर स्थायी बन्ध्याकरण (परिवार नियोजन) गराउनुभयो ।

उमेर नपुग्दै सन्तानको रहर पूरा भएका उहाँ मात्र एक्ली हुनुहुन्न । ढकारी गाउँपालिका–१ की भावना जैसीले पनि २२ बर्षको उमेरमै बन्ध्याकरण गराउनुभयो ।

स्कुल पढ्दा पढ्दै भागेर विवाह गर्नुभएकी उहाँको १६ बर्षको उमेरमै गर्भ रहयो । अहिले उहाँका दुई छोरा छन् ।

ढकारीकै २३ बर्षीया निर्मला जैसी पनि उहाँसँगै बन्ध्याकरण गराउन अस्पताल जानुभएको थियो । ७ कक्षामा पढ्दा पढदै कलिलो उमेरमै उहाँको विवाह भएको थियो ।

‘घरकाले सानैमा विवाह गरिदिए,’ जैसीले भन्नुभयो, ‘विवाह गरेको अर्को बर्ष छोरा जन्मियो, सन्तानको रहर पूरा भएपछि अब नजन्माउने सोचले बनध्याकरण गरेकी हुँ ।’

जिल्लामा गत साउनयता उनीहरुकै उमेर समूहका अन्य २१ महिलाले मिनिल्याप गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ ।

११ महिनको अवधीमा अस्पताल पुगेर परिवार नियोजन गराउनेको संख्या जम्मा २ सय ३३ छ ।

तपाईको प्रतिक्रिया