बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बाजुरा – गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो । कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी अनिता आले र स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते दुईजनालाई नेपालगन्ज उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो । दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो ।

कोल्टीस्थित सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार गम्भीर घाइते सहचालक अनिता आले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । सुबेदार पूर्णबहादुर खड्काको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । मृतक क्याप्टेन गुरुङसहित दुवै घाइतेलाई सीता एयरलाइन्सको डोर्नियर विमानले दिउँसो १ बजेर २३ मिनेटमा नेपालगन्ज ल्याएको थियो ।

यसरी भयो दुर्घटना
सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए,’ थापाले भन्नुभयो ।

सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको उहाँले बताउनुभयो । ‘अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो,’ थापाले भन्नुभयो । खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । उहाँका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेको स्थानीय अनिल शाहीले बताउनुभयो । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए ।

तपाईको प्रतिक्रिया