शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – प्रतिनिधिसभा इलाम-२ र प्रदेशसभा बझाङ-१ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका छन् । झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक/एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो ।

बदलिँदै गरेको जनमनस्थिति तथा नयाँ राजनीतिक दल र समूहबीच झाँगिदै गएको ‘अतिविश्वास’ एवं पुराना दलहरूबीच बढ्दै गएको ‘अति हतोत्साह’ यो चुनावी परिणामले समीक्षा गरेको छ । तर ठूला दलहरु भने यो नतिजाबाट सन्तुष्ट नै रहेको देखिन्छ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिणामबाट दंग छन् भने प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाहाल सन्तुष्ट देखिन्छन् ।

अघिल्लो चुनावमा पनि हारेको इलामको उपनिर्वाचनमा भएको पराजयले नेपाली कांग्रेसलाई पनि त्यति पिरोलेको देखिँदैन । आम चुनावमा नेकपा माओवादी केन्द्रलगायतका दलहरूसँग चुनावी गठबन्धन गर्दा पनि त्यहाँ एमालेले नै जितेको थियो । उपचुनावमा एमालेको जितलाई स्वाभाविक रूपमा लिएको कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा बताउँछन् । ‘हिजोको विजेता एमालेमा माओवादीको मत थपिएपछि त उसको जित सुनिश्चित नै थियो,’ थापाले भने, ‘त्यसले गर्दा कांग्रेसले समीक्षा र विश्लेषण गर्नुपर्ने नै छैन ।’

उनका भनाइमा कांग्रेसमा निकै चर्चा हुने गरेको अन्तर्घात यस पटक भएन । बरु सबैजसो पार्टीको केही मत पहिचान पक्षधर उम्मेदवारलाई गएको सुनाउँदै उनले त्यति हुँदा पनि कांग्रेसले सम्मानजनक मत पाएको प्रतिक्रिया दिए । कांग्रेसले बझाङमा भने यसअघि जितेको प्रदेश सभाको एक सदस्य उपचुनावबाट गुमाएको छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले त्यहाँको चुनावमा पनि प्रचुर प्रयास गरेको र पार्टीभित्र एकता पनि निकै राम्रो रहेको बताए । उनले अगाडि भने, ‘यसअघि हामीले गठबन्धन गरेर जितेका थियौँ तर अहिले एक्लै लड्दा प्राविधिक रूपमा चुनाव हारे पनि हाराहारी मत हेर्दा हामीप्रतिको विश्वास र हाम्रो लोकप्रियता यथावतै रहेको ठान्छु ।’

बझाङमा सत्ता सहयात्री दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत चुनौती दिँदा पनि एमालेले जितेको हो । अझै बलियो उम्मेदवार उठाउन सकिन्थ्यो कि भनेर टिकट वितरणका बेला पनि समीक्षा भएको थियो,’ नेता पाण्डेले भने, ‘त्यसैले हामीले जितेको सीट गुमाउनुपर्दा केही समीक्षा गर्नुपर्ने स्थित त आयो तर यसले अरूको सहारामा चुनाव जितौँला भन्ने मनोदशाबाट सदाका लागि मुक्त हुन प्रेरित गरेको छ ।’

तपाईको प्रतिक्रिया