काठमाडौँ – अनियन्त्रित सवारी साधन, बढ्दो सहरीकरणका साथै बढ्दो जनसङ्ख्याले ध्वनि प्रदूषण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । बढ्दो ध्वनि प्रदूषण र ध्वनि प्रदूषणका कारण हुने बहिरोपनाको न्यूनीकरण गर्ने उद्देश्यले ‘ध्वनि प्रदूषणलाई कम गरौँ र बहिरोपनबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ शुक्रबार मनाइएको विश्व श्रवण दिवसको अवसरमा ध्वनि प्रदूषण बढ्दै गइरहेको बताइएको हो ।
हरेक वर्ष मार्च ३ मा मनाइने विश्व श्रवण दिवस नेपालमा भने पहिलो पटक मनाइएको हो । वीर अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख प्राडा. ढुण्डीराज पौडेलले ध्वनि प्रदूषण बढाउन औद्योगिकीकरणसँगै बढ्दो सवारी चाप र साँगुरा सडकका कारणले जनसङ्ख्याको चाप रहेका राजधानीका केही स्थानमा पैदा हुने गरेको ध्वनि प्रदूषणको मात्रा बढ्दै गएको जानकारी दिनुभयो । नेपाल बहिरोपन निवारण समितिका संयोजकसमेत रहनुभएका पौडेलले चर्को आवाजले उत्पन्न हुने बहिरोपन स्थायी हुने सम्भावना रहने तथा त्यसको उपचार सम्भव नहुने बताउनुभयो ।
डा. पौडेलले चर्को आवाजबाट सिर्जित बहिरोपनबाट व्यक्तिलाई बचाउन सकिने बताउनुभयो । उहाँले नेपालमा १६ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित रहेको जानकारी दिँदै बहिरोपनका ५० प्रतिशत कारणको रोकथाम गर्न सकिने बताउनुभयो ।