हामी नेपालीहरू विदेशिने धेरै कारणहरू छन् । जसमध्ये पहिलो कारण विदेश गएर छोटो समयमा नै धेरै कमाएर नेपालमा सुखी जीवन जीउने । दोस्रो, विदेशिएर कमाउने त छँदैछ, त्यस बाहेक विदेशमा नै सकेसम्म सेटल हुने । अनि केही बिना लक्ष्य, उद्देश्य अरू कसैको लहलहैमा लागेर एक पटक गईहेरौं भनेर विदेशिनेहरू छन् । सके राम्रो गरौंला, नसके फर्केर आउला भन्नेहरू पनि छन्, यसमा म पनि पर्दछु ।आजभोलि देखिएको अर्को एक थरीका जमात नेपालमा हल्लिएर आमाबुबालाई दुःख दिएर बसेकाहरूलाई आमाबुबा स्वयमले नै विदेश पठाएर विदेश अाउनेहरूको जमात पनि कम भने छैनन् ।
यसरी विभिन्न सोचाई लिएर आएका छौ हामीहरू विदेशमा । नेपालमा बस्दा बरू त्यति नेपाल प्रतिको माया र कर्तव्य बोध भएको थिएन होला । विदेश आए पछि नेपाल प्रतिको माया र कर्तव्य झन बढि नै हुदोरहेछ । अरू कुनै विदेशीले नेपालीलाई हेपेको देख्यो भने साह्रै मन दुखेर आउँछ, आफूलाई नभने पनि आफैलाई भने जस्तो लाग्छ । हामीहरूले पनि सकेसम्म त्यस्तो कार्य नगरौं, जसले गर्दा अरू नेपालीले सजायँ भोग्नु परोस् ।
यति टाढा सात समुद्रपारिको देश, अनि विभिन्न सपना बोकेर आएका हामी नेपाली । आजभोलि कालगतिले भन्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । यस्तो दुखद समाचार सुन्नु पर्दा मन चसक्क दुखेर आउँछ । अनि विभिन्न प्रश्नहरूले घेर्न थाल्छन् । किन आत्महत्या गरयो होला ? के त्यस्तो दुख परयो होला जुन उसले सहनै सकेन ? किन आफूलाई त्यति कमजोर बनायो होला ? उसका वरिपरिकाहरूले मर्नु भन्दा अगाडिका उसका गतिविधिमा केही फरक पाएन होला र ? आदि प्रश्नले झस्काई रहन्छ । यसको उत्तर र यस्तो समस्याको हल अझै निकाल्न सकिएको छैन ।
खासमा भन्नु पर्दा हामीले दुःख अरूबाट भन्दा पनि आफ्नै नेपालीहरूबाट पीडित भएकाहरू बढिरहेको पाइन्छ । विदेश प्रोसेसबाटै शुरू हुन्छ एक पछि अर्को झमेलामा फस्ने क्रम । शुरूमा अनभिज्ञ भएता पनि विदेश आईपुगेको केही दिन मै आफूले देखेको सपना र यहाँको तालमेल मिल्दैन । उताबाट देखाउनेले पनि ठूला ठूला कुरा गरेर ठूलै सपना देखाएका हुन्छन । तर वास्तविकता फरक भईदिन्छ । म आफैले पनि नेपालबाट भर्खर आउँदा बित्तिकै कति जनालाई भेटेको छु, जो ठूलो सपना बुनेर जापान आउनेहरू मध्यका प्रतिनिधी पात्र हुन । उनीहरूले देखेको सपना सुनेर म छक्कै परेको छु । २ हप्ता पछि भेट्दा उसको त्यो जोश जाँगर निराशापनमा बदलिसकेको थियो । किन यति छिट्टै हरेश खाएको होला ? हाम्रो पालामा शुरूको ३ महिना काम गर्न पाइँदैन थियो वर्क पर्मिट नपाएर । तर अहिले आएको दिनमै पाईन्छ । भाषा जानेर आउनुभयो भने काम पाईन्छ । तर हामीहरू त्यति धेरै तयारी भएर आएका हुँदैनौं । पहिले नै धेरै पैसा तिरेर आएको हुन्छ । फेरी यहाँ आएपछि काम खोज्नलाई पनि पैसा नलाग्ने ठाँऊमा पनि काम लगाईदिए बापत नेपालीलाई त्यो पनि चिनेजानेकै साथीभाई लाई तिर्नुपर्ने हुन्छ । कामको मात्र नभएर अरू केही सहयोग गरिदिए बापत त्यो भन्दा बढि लिने चलन बसालेका छन् यहाँ नेपालीहरूले प्रत्यक्षरूपमा होस् या अप्रत्यक्ष रूपमा । सके सहयोग गरौं, नसके बरू नगरौं । तर कसैको विवशताको फाईदा उठाउनु भनेको त्यो क्षणिकको लागि मात्र हुन्छ । यो कुरा अकसरले बुझ्दैनन् र पीड़ित लाई सहयोग गरे जस्तो गरेर बढि फाईदा आफैले लिएका हुन्छन् । यस्तो कुराबाट तपाई हामी आफै पनि सतर्क हुनुपर्दछ । आफू जुन ठाँऊमा जाँदै हुनुहुन्छ, त्यस ठाँऊको वातावरण, भाषा, नियम कानूनको बारेमा धेरथोर जानकारी त राख्नैपर्दछ । नेपालमा जे जस्तो काम गरे पनि नयाँ ठाँऊमा जिरोबाटै शुरू गर्नुपर्दछ । कि आफ्नै फिल्डको काम बाटै विदेशिएको हुनुपर्दछ । आफ्नै ठाउंमा त कति संघर्ष गर्नुपर्ने हुन्छ भने विदेशीभूमिमा त्यसको कैयौं गुणा दुःख, हण्डर खानुपर्ने हुन्छ शुरूका दिनहरूमा । अग्ला महल र चिल्ला बाटाहरू त्यति सजिलै कहाँ बनेका हुन् र ? यो भित्र धेरैका पसिना बगेका छन्, पीडाहरू लुकेका छन् ।
अर्को पाटाका नेपाली रेष्टुरेण्टसँग सम्बन्धित छन् । कति साहुहरू ठगिएका छन्, तर धेरैमा कुकहरूनै ठगिएका छन् । साहुहरू यस्तामा ठगिन्छन कि नेपालबाट एक जना कूक झिकायो । केही काम नजानेकोलाई काम सिकाउँछन् । नेपालबाट परिवार पनि बोलाईदिन्छन् । सबै आफ्नो हात परेपछि साहु र कामलाई लात हान्छन् । अनि कूकहरूको पीडा भनेको नेपालबाट धेरै रकम तिरेर आएका हुन्छन् । यहाँ आएपछि काम राम्रो हुदैन । काम जानेको छैन भनेर तलब राम्रो दिएका हुदैनन् । उता नेपालमा साहुको चर्को ब्याज दिनदिनै बढिरहेका हुन्छन् । न त बाहिर गएर काम गर्नै पाउँछन् यहाँको नियम अनुसारले । यस्तैमा १ वर्षको भिषा सकेर थप्नुपर्ने बेला आईसकेको हुन्छ, यति बेला पनि फेरि समस्याले सताउँछ । नेपालबाट नाम मात्रको कूक भिषामा आएर अलपत्र पर्नेको संख्यामा कमी छैन । यस्तै यस्तै समस्याले ग्रसित छन् ।
देख्नलाई अरू सुखी भएको देख्छौ । तर दुःख नपाउने यो संसारमा कोही छ जस्तो लाग्दैन । दुःखको प्रकार मात्र फरक हो जस्तो लाग्छ । फेरि एकै किसिमको दुःख भएता पनि दुःख पाउने व्यक्तिमा पनि भर पर्दछ कि त्यो दुःखलाई कसरी लिने भनेर । हामीलाई आफ्नो दुःख ठूलो लाग्छ, अरूको दुःख सानो । आफूलाई रूघा मात्र लागे पनि धेरैले केयर गरिदिए हुन्थ्यो भनेर आशा गर्दछौं । तर अरूलाई क्यान्सर नै लागे पनि सन्चो विसन्चो सोध्नसम्म पनि याद गर्दैनौं । यो एउटा आम मानिसको स्वभाव नै हो । तपाई आफै भन्नुस् कि कुनै पनि एउटै दुःख धेरै टिकेको छ र ? कुनै कुनै पिडाको घाउ निको भएता पनि बेला बेलामा चर्चराउने गर्दछन् (अप्रेशन गरेको घाउ मौसम खराब हुँदा चहराए जस्तै) जुनसुकै दुःख पनि शुरूको दिनमा सहन साह्रै गाह्रो हुन्छ । त्यो दुःखलाई केही दिन झेल्न सक्नुभयो भने पछि बिस्तारै बानी पर्न थाल्दछ । भनिन्छ नि ‘चिन्ताले चितामा पुरयाउंछ रे’। त्यसैले बेकारमा किन धेरै चिन्ता लिने ? समस्या एक्लै आउदैनन् रे, सँगै समाधान पनि लिएर आएको हुन्छ रे तर लुकाएर । त्यसलाई खोज्न जान्नुपरयो । भेटियो भने राम्रै भयो, भेटिएन भने पनि केहि न केहि पाठ सिकाएरै जान्छ । समस्याले मानिसलाई समझदारी बनाउँछ ।
दुःख पाउँदैमा नआत्तिने, बरू कसरी हुन्छ त्यो दुःखबाट छिट्टै उम्केर साधारण जीवनशैलीमा फर्किन कोशिश गर्ने । आफ्नो मुड फ्रेश बनाउन तिर लाग्ने । जस्तै मन लागेको ठाउंमा घुम्ने जाने, कुरा मिल्ने साथीहरूसंग भेटघाट गर्ने, या अरू कुनै कार्य गरेर पनि फ्रेश हुन सकिन्छ । भनिन्छ ‘अघि बढ्नलाई आफूभन्दा अगाडिकालाई हेर्नु रे । तर दुःखबाट उम्कनलाई आफू भन्दा पनि दुःख पाएकालाई हेरेर चित्त बुझाउनु अरे ।’ उसको जस्तो बिजोग मेरो भएको छैन । मैले यति हुँदैमा हार खानु हुन्न भनेर सम्हालिन सकिन्छ । अरूलाई हेरेन, अरूको दुःख सुनेन भने आफूनै अन्तिम व्यक्ति हो साह्रै दुःख पाउनेमा भन्ने झैं लाग्न सक्दछ ।
कुनै पनि सफल व्यक्तिहरू त्यति सजिलै सफल भएका हुदैनन् । त्यहाँसम्म आईपुग्नलाई धेरै समस्याहरूलाई पार गरेर सफल भएका हुन्छन् । सफल व्यक्तिको जीवनीबाट केही न केही कुरा सिक्ने अवसर पक्कै मिल्नेछन । पोजेटिभ आत्मवल, संघर्ष र धैर्यता आदि गर्न सिकाउँछ । समस्या र दुःखमा धैर्यता गर्न सकेन भने आत्म सन्तुलन बिग्रन सक्छ र त्यस्तो बेलामा आत्महत्याको सम्भावना धेरै हुन सक्दछन् ।
मानिसको जीवन एउटा बरदान हो । यो अमूल्य छ । कुनै दुर्घटना या बिरामीले गर्दा मृत्युलाई नजिकबाट देखेकालाई सोध्नुहोस् कि बाँच्नुको महत्व कस्तो हुन्छ भनेर ? अनि अरूको निम्ति बाच्नेको लागि सोध्नुहोस्, जो कसैको आधार बनेर खडा भएको हुन्छ । मर्नु त एकदिन छँदैछ, त्यसमा किन हतार गर्ने ? बरू जिन्दगी यसरी जिउनुस कि तपाईलाई देखेर हरेश खाएकाहरूको लागि प्रेरणा बन्न सकून ।***