शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ – चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार देखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताउनुभयो । कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताउनुभयो । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो ।

निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख तीन हजार पर्नेछ । नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षा समेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भर्‍याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो । विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुवात् गरेको छ ।

अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया