आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – जापानको राजधानी टोकियो स्थित एभरेष्ट ईन्टरनेशनल स्कुलका विद्यार्थी माझ नेपाली चलचित्र ‘बिजुली मेशिन’को विशेष प्रर्दशन गरिएको छ ।

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियानको आयोजनामा प्रर्दशन गरिएको उक्त चलचित्र विज्ञान विषयका दुई विद्यार्थीको सङ्घर्षमा आधारित छ । युवा तथा बाल बालिकाको निम्ति प्रेरणादायी चलचित्र भन्ने चर्चा पाएको ‘बिजुली मेशिन’ हेरेपछि कक्षा ५ का विद्यार्थी पुजन खत्रीले जीवनमा मिहिनेत गर्नुको महत्त्व बुझेको र मुलुकको निम्ति केही गर्नु पर्छ भन्ने उत्प्रेरणा आफूलाई मिलेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै कक्षा ३ मा अध्यायनरत विद्यार्थी सिफसा सापकोटाले फिल्म हेरेर विज्ञानको महत्त्व बुझेको र कथा अनुसार चलचित्रको नमा पनि आफूलाई एकदमै मन परेको प्रतिक्रिया दिनु भयो । झन्डै १ घण्टा ४५ मिनेट लामो चलचित्र विद्यार्थीहरूले निकै चाख लिएर हेरेका थिए ।

एभरेष्ट इन्टरन्यासनल स्कुलका प्राचार्य प्रदीप थापाले चलचित्रको विषय वस्तु विद्यार्थीको निम्ति अत्यन्त सान्दर्भिक र प्रेरणादायी भएको बताउनु भयो । उहाँले चलचित्र हेरिसकेपछि आफ्ना विद्यार्थीहरूले राम्रो प्रतिक्रिया दिएको पनि बताउनु भयो ।

आजोजक संस्थाका अभियन्ता तथा क्लिनिकल मनोविद डा. विजय ज्ञवालीले चलचित्र बिजुली मेशिनले प्रेरणामुलक र सकरात्मक सन्देश बोकेको हुनाले नै विद्यार्थीका लागि प्रर्दशन गरिएको बताउनु भयो । उहाँले आफ्नो अभियानले सधैँ सकारात्मक विचार र सोचको पक्षपोसण गर्ने हुँदा यो कार्यक्रम पनि त्यही क्रमको निरन्तरता भएको प्रतिक्रिया दिनुभयो ।

यस चलचित्र प्रर्दशन कार्यक्रमलाई क्योदाइ रिमिटेन्स, जे .एम .इ रेमिट, सिटी ट्राभल एन्ड टुर र हामीले नगरे कसले अभियानले इभेन्ट सहयोगीको रूपमा आयोजकलाई सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया