आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – सांगीतिक क्षेत्रमा भविष्य नदेखेर विदेशिनु भएका संगीतकार दीपक वसन्त कार्की पुनः सांगीतिक क्षेत्रमा देखा पर्नु भएको छ ।

जापानलाई कर्मथलो बनाउँदै आउनुभएका कार्कीले भर्खरै मात्र ‘चोखो माया धेरै टिकेन’ बोलको गीत बजारमा ल्याउनु भएको छ । केही समयको अन्तराल पछि निक्कै नै उत्कृष्ट लय सिर्जना गर्दै ‘चोखो माया धेरै टिकेन’ मार्फत उहाँ नेपाली साँगीतिक क्षेत्रमा पुनरागमन हुनु भएको हो ।

गीतमा कार्कीको उत्कृष्ट लय, भरत खत्रीको मर्म स्पर्शी शब्द सिर्जना रहेको छ भने चर्चित गायक मौसम गुरुङ र गायिका पूर्णकला बिसीको आवाज रहेको छ । कार्कीकै निर्देशनमा एमबि गुरुङ र सिर्जना थापाको जीवन्त अभिनय रहेको यस एल्बम एमबि गुरुङको पहिलो प्रस्तुति पनि हो । जापानमै छायांकन गरिएको ‘चोखो माया धेरै टिकेन’ को म्युजिक भिडियो भने शितल सिजन डिजिटल प्रालिले बजारमा ल्याएको हो ।

म्याग्दी जिल्लाको भकिम्लिमा जन्मिएर नेपाली गीत संगीतमा ‘ठूलो मान्छे’ भाग एक र भाग दुई, तिम्रो रोजाइ, पिरतीको महल, मन परे पनि, डाँडा पारी गाउँछ, प्रतीक्षामा, मायालुको भलाई, झरी बादलको, पञ्चे बाजा बेनिबजार माथी मल्लाज, पञ्चे बाज दरम खोला जस्ता चर्चित दर्जनौं गीतमा शब्द संगीत गरिसक्नुभएका कार्कीले बिन्ध्यावासिनी म्यूजिक अवार्ड समेत जितिसक्नु भएको छ ।
(गीत हेर्नको लागि तल क्लिक गर्नुहोला)

तपाईको प्रतिक्रिया