आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो-जापान सरकारले दक्ष विदेशी कामदारलाई कृषि क्षेत्रमा काम गर्न दिने निर्णय गरेको छ । सरकारले सोमबार गरेको निर्णय अनुसार केही प्रावधानहरू पुरा भएको खण्डमा विदेशी दक्ष कामदारहरूले तोकिएको क्षेत्रमा गई कृषिमा काम गर्न सक्नेछन् । यसले ग्रामीण तथा कृषि क्षेत्रमा भईरहेको अांशिक श्रमिक अभावको पुरा गर्ने अपेक्षा गरिएको छ ।

जापानी सञ्चार माध्यमहरूका अनुसार प्रधानमन्त्री सिन्जो अाबेले राष्ट्रिय परिषदको बैठकमा भनेका छन्-‘हामीले तोकिएको केही  क्षेत्रमा विदेशी दक्ष कामदारहरूलाई तोकिएको काम गर्न अनुमति दिने निर्णय गरेका छाैं ।’
यस क्षेत्रमा काम गर्नका लागि केही मापदण्ड पुरा गर्नुपर्ने प्रावधान रहेको बताईएको छ । अाफ्नो देशमा सम्बन्धित विषय अध्ययन गरेका र जापानी भाषामा अावश्यक दक्षता हासिल गरी जापानी कामदार सरह काम गर्न सक्ने दक्ष विदेशी कामदारहरूलाई काम गर्न अनुमति दिने जापान सरकारले निर्णय गरेको हो । प्रारम्भिक चरणमा तोकिएको विशेष क्षेत्रहरूमा अाकिता, इवाराकी, अाइची र नागासाकी प्रान्तहरू रहेका छन् । २०१५ को सरकारी अाँकडा अनुसार कृषि क्षेत्रमा काम गर्ने करीव ६३ दशमलव ५ प्रतिशत भन्दा बढी कृषकहरू ६५ वर्षभन्दा बढी उमेरको रहेको छ । १९९३ देखि विदेशी कामदारहरू प्रशिक्षार्थीका रूपमा अाउने गरेको र निश्चित अवधि काम गरी सीप सिक्ने माैका पाउने गरेका थिए । सस्तो ज्यालामा काम गर्नु परेको भन्दै प्रशिक्षार्थीका रूपमा जापान अाएकाहरू काम गर्न अाएको कम्पनीबाट भागेर अन्यत्र काम गर्ने गरेकोले समस्या देखिएको थियो ।

त्यसैगरी सरकारले केही विशेष क्षेत्रमा शिशु स्याहार तथा हेरचाह केन्द्रको पनि वृद्धी गर्ने निर्णय गरेको छ । त्यसो त बच्चाको उमेर हालसम्मको २ वर्षबाट बढाएर  ५ वर्षसम्म बनाइने भएको छ ।  बच्चाहरूलाइ शिशु स्याहार केन्द्रमा राखिने समयको अवधि बढेसँगै अामाहरूले थप समय काम गर्न पाउन भन्ने उद्देश्यका साथ यो निर्णय अाएको देखिन्छ । सरकारको पछिल्लो निर्णयसँगै  जापानी श्रम बजारमा देखिएको श्रम अभावमा केही सुधार अाउने अनुमान गरिएको छ ।***

तपाईको प्रतिक्रिया