काठमाडौं – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा नेपाली टोली आयोजक हङकङसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य हङकङले १६ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । हङकङका लागि जि वान यिपले ३३ तथा याश्मिन दस्वानीले १३ रन बनाइन् । नेपालकी निर्मला कुमारी शाहीले दुई विकेट लिइन् ।
मिसन रोड मैदानमा पहिले ब्याटिङ गरेको नेपाली टिमले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्रै ७७ रन बनायो । नेपालका लागि निर्मला कुमारी शाहीले १८, कप्तान रुबिना क्षेत्रीले १२ तथा रश्मि चौलागाईंले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, चीन र थाइल्याण्ड सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायर अर्थात विश्वभरिका टिम सहभागी हुने छनौट प्रतियोगितामा भाग लिन पाउनेछ ।
छनौटका लागि सबै खेल जित्नै पर्ने दबाब भएपनि पछिल्लो समय प्रतियोगिता तथा अभ्यासको अभावमा नेपाली टिमको प्रदर्शन निराशाजनक छ ।
नेपालले पछिल्लो पटक सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा भाग लिएपछि कुनै प्रतियोगिता खेलेको छैन । नेपाली टोली एक महिनाको प्रशिक्षण लिएर प्रतियोगिता खेल्न हङकङ पुगेको हो । प्रतियोगितामा नेपालले सोमबार थाइल्याण्डसँग खेल्नेछ ।