काठमाडौँ – ग्यास कम्पनीहरूले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरूले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो ।
सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ । ग्यास बिक्रेता सङ्घ काठमाडौँका तथ्याङ्क अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् । बिक्रेता सङ्घका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ ।
२३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको सङ्घले जनाएको छ । त्यस्तै त्रिशुल, सूर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् ।
उद्योगीले धरौटीको नाममा मूल्य लिए पनि सर्वसाधारणले धरौटी रकम फिर्ता पाएका छैनन् ।