काठमाडौँ – तपाईँ जेब्रा क्रसिङ भएको स्थानमा तीव्र गतिमा गाडी कुदाउँदै हुनुहुन्छ ? वा तोकिएको बाहेकका अन्य स्थानमा सार्वजनिक यातायातका गाडी रोक्दै हुनुहुन्छ ? अब आइन्दा सावधान हुनुहोला ।
तपाईँले चलाएको गाडी सार्वजनिक यातायातको हो भने सादा पोशाकमा ट्राफिक प्रहरी तपाईकै गाडीभित्र हुन सक्छन् । साउन पहिलो सातादेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङमा तीव्र गतिमा गाडी कुदाउने र जहाँ पायो त्यही गाडी रोक्नेलाई कडा कारबाही गर्ने तयारी थालेको छ ।
त्यसका लागि महाशाखाले ठुलो संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । ‘सादा पोसाकमा ट्राफिक प्रहरी सार्वजनिक यातायातमा अन्य यात्रुसँगै बस्छन्,’ महाशाखाका डिआइजी प्रकाश अर्यालले भन्नुभयो,‘गल्ती गरेको पाए उनीहरूले ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कारबाहीका लागि खबर गर्छन्, तत्काल कारबाही प्रक्रिया अघि बढाइन्छ ।’
चालकले जेब्रा क्रसिङमा नरोक्ने, यात्रुलाई प्राथमिकता नदिने र जहाँ पायो त्यहीँ रोक्ने प्रबृत्ती हाबी भएपछि यो अभियान सञ्चालन गर्न लागिएको अर्यालले बताउनुभयो ।