टोकियो – आइतवार टोकियोमा विविध साँगीतिक कार्यक्रम मोना नाइट सम्पन्न भएको छ । मोना नाइट कार्यक्रममा नेपालदेखि आमन्त्रित कलाकारहरु शान्ति सुनार, मिना लामा, सुमन परियार र चिजा तामाङको साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।
साथमा देउराली पञ्चबाजा समुहको मौलिक नौमती लोकबाजा र प्रियङ्का चोखालको नृत्यले मोना नाइट कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजना भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावासका द्वितीय सचिव टोपनारायण गिरी र कार्यक्रमका सभापति मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले ब्यानर खोलेर संयुक्तरुपमा उदघाटन गरेका थिए।
सूचना र प्रविधिमा सर्बसाधारणको पहुँच बिस्तार गर्ने उद्देश्यले म्याग्दी जिल्लालाई पहिलो र नमुना निःशुल्क वाइफाइ जिल्ला बनाउने म्याग्देलीहरुको बिश्वब्यापी अभियानमा सघाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख अतिथिको आसनबाट गिरीले उद्देश्य प्राप्तीका लागि अभियान सफल रहोस् भन्ने कामना गर्दै सूचना र प्रविधिको क्षेत्रमा म्याग्देलीहरुले देखाएको सक्रियताले अन्य जिल्लाबासीहरुलाई पनि प्रेरित गर्ने बिचार ब्यक्त गरे ।
यसैगरी मोना जापानका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले सूचना र प्रविधिको महत्वमाथि प्रकाश पार्दै म्यागासेसे पुरस्कार विजेता तथा आइटी विज्ञ डा. महावीर पुन मगरको उक्त अभियानमा संसारभरिका म्याग्देलीहरु गोलबन्द भएर अगाडि बढ्नुपर्ने बताए ।
मोनाका केन्द्रिय उपाध्यक्षसमेत रहेको वाइफाई प्रोजेक्टका जापान संयोजक महेन्द्र खड्काको स्वागत मन्तब्य रहेको सो कार्यक्रमको महासचिव खेम मल्लले सञ्चालन गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा अघिल्लो हप्ता अफगानिस्ताको काबुलमा तालिबानी आक्रमणमा परी ज्यान गुमाउने १३ जना नेपालीहरुप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।
लगत्तै राष्ट्रियगानबाट सुरु भएको साँगीतिक चरणको कार्यक्रम गायक सुमन परियारले कुशल ढंगले सञ्चालन गरेका थिए ।
मोना नाइटको ध्वनी ब्यवस्थापनमा मोना जापानका सल्लाहकार समेत रहेका जापानका चिरपरिचत डिजे जोन छन्त्यालको संयोजन रहेको थियो ।
कार्यक्रमको अन्तमा सभापति बानियाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, कलाकार, अतिथि, साउण्ड ब्यवस्थापक, मिडियाकर्मी लगायत सर्बसाधारण दर्शक स्रोताहरुमा धन्यबाद ज्ञापन गरेका थिए ।
यति होल्डिङ् कम्पनीका प्रबन्ध निर्देशक ददिवल खड्का र अर्का ब्यवसायी ओमप्रकाश केसीको प्रमुख प्रायोजनमा मोना नाइट कार्यक्रम सम्पन्न भएको हो । यसैगरी कार्यक्रमलाई डिजे जोन छन्त्याल, दिपक केसी, दिपक सुबेदी, बिजय थकाली, नरबहादुर थापा, महेश श्रेष्ठ, गिरी शेरचन, साकुरा इजाकाया, देउराली पञ्चेबाजा समुह, खगेन्द्र पुन, सिन्का कम्पनी लिमिटेड, गमप्रसाद जुग्जाली लगायतका ब्यवसायीहरुले पनि बिशेष प्रायोजन गरेका थिए। ***