अस्ट्रेलिया – अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरूको साझा घर सामुदायिक केन्द्र निर्माणका लागि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरूको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि जुन २४ मा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नुभएको हो । अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार एवं लुल्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यो जानकारी सार्वजनिक गर्दै लेख्नु भएको छ,‘ विश्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रितीरिवाजलाई बिर्सन सक्तैनन र यसलाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यसलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा ।’
श्रेष्ठ थप्नुहुन्छ, ‘सम्भवत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठुलो व्यक्तिगत योगदान हो ।’ सहयोगसँगै भिक्टोरियामा बनाउने लक्ष्य लिएको सामुदायिक केन्द्रको परिकल्पनाले साकार रूप लिन सक्ने आशा पलाएको भन्दै श्रेष्ठले भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत योन्जनप्रती आभार पनि प्रकट गरेको छ ।
यस्तै सामुदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी उक्त कार्यक्रम मार्फत एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन गरिएको थियो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले मेलबर्न बाहिर रहनुभएकोले घलेको अनुपास्थितिलाई लक्षित गर्दै यस्तै ठुलो परिमाणको सहयोगको अर्को घोषणा पनि निकट भबिययमा सुन्न पाउने आशा समेत श्रेष्ठले गर्नुभएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।