कार्यक्रमको तयारी पुरा
टोकियो – भोलि आइतवार टोकियोमा हुन गईरहेको मोना नाइट कार्यक्रमका लागि आमन्त्रित कलाकारहरु टोकियो आईपुगेका छन् ।
लोक तथा दोहोरी गायिकाहरु मिना लामा, शान्ति सुनार, चिजा तामाङ र लोक तथा दोहोरी गायक सुमन परियार आजै टोकियो आईपुगेका हुन् ।
सूचना र प्रविधिको पहुँच सर्बसाधारणसम्म पुर्याउने लक्षअनुरुप जिल्लालाई पहिलो र नमुना निःशुल्क वाइफाइ जिल्ला बनाउनका लागि सुरु गरिएको बिश्वब्यापी अभियानमा सघाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले मोना नाइट कार्यक्रमको आयोजना गरेको हो ।
मोना नाइट कार्यक्रमका लागि टोकियो आईपुगेका कलाकारहरुलाई मोना जापानका अध्यक्ष महेन्द्र बानिया, मोना नाइटका संयोजक महेन्द्र खड्का, गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष नरबहादुर थापा, ब्यवसायी रुद्रबहादुर थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपालप्रेमी जापानी नागरिक हिरायुकी चुरुओका लगायतले हानेडा विमानस्थलमा स्वागत गरेका थिए ।
मोना जापानको आयोजना र टोकियो रोधी क्लवको सहआयोजना तथा यति होल्डिङस् कम्पनीको मुख्य प्रायोजनमा मोना नाइट कार्यक्रम हुन लागेको हो । यसबाहेक थुप्रै ब्यवसायीहरुले मोना नाईट कार्यक्रमको प्रायोजन गरेर सहयोग गरेको कार्यक्रम संयोजक खड्काले बताए ।
कार्यक्रममा आमन्त्रित कलाकारहरुको साँगीतिक प्रस्तुतीका साथै जापानमै रहेर पनि मौलिक लोकबाजा नौमतीको प्रबर्धन गर्ने कार्यमा क्रियाशील रहँदै आएको देउराली पञ्च बाजाको प्रस्तुती पनि रहने बताईएको छ ।
इकेबुकुरोस्थित तोसिमा कुमिन सेन्टरमा भोलि अपरान्ह साढे ४ बजेबाट हुने मोना नाइट कार्यक्रमको सबै तयारी पुरा भएको बताउँदै मोनाका अध्यक्ष बानियाँले कार्यक्रममा उपस्थित भई दिन जापानको नेपाली समुदायमा अपिल गरेका छन् ।
मोना नाइटका लागि आजै आइपुगेका कलाकारहरुको स्वागतमा आजै सांझ शिनओकुबोस्थित साकुरा इजाकायामा रात्रीभोज कार्यक्रम राखिएको मोना जापानका महासचिव खेम मल्लले समुद्रपारिलाई बताए । ***