टोकियो – मुटुरोगी भीमाकुमारी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग जुटाई नयाँ जीवन प्रदान गर्न पुर्याउनुभएको योगदानप्रति जापानबासी नेपालीहरुमा कृतज्ञता प्रकट गर्दै आजका मितिदेखि आर्थिक सहयोग संकलन कार्य बन्द गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेकी छिन ।
मुटुको दुवै भल्भले काम नगर्ने भएपछि जतिसक्दो छिटो भल्भ फेर्नुपर्ने र त्यसको लागि लाग्ने ठुलो खर्चको जोहो आफु एक्लैले गर्न नसक्ने भन्दै जापानबासी नेपालीहरुमा सहयोगको याचना गरेकी भीमाले अबउप्रान्त आफ्नो नाममा सहयोग राशी जुटाउने कार्य आजैका मितिदेखि बन्द गर्न र संकलन भईसकेको रकम आफ्नो खातामा दाखिला गर्न अपिल गरेकी हुन् । शल्यक्रियाको पूर्व सन्ध्यामा रहेकी भीमाले समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै आफु सबैको फोन रिसिभ गर्न नसक्ने अवस्थामा रहेकीले रकम दाखिला गरिसकेपछि [email protected] मा इमेलमार्फत जानकारी गराई सहयोग गर्न पनि अनुरोध गरेकी छिन ।
पीडित भीमाले आफ्नो उपचारका लागि खातामा प्राप्त भएको र प्रत्यक्ष भेटी हस्तान्तरण गर्नुभएको सहयोग राशीको बिस्तृत विवरण छिट्टै मिडियामार्फत सार्बजनिक गर्ने बताउँदै आफ्नो नाममा संकलन भएको रकम कुनै पनि हालतले दुरुपयोग हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरेकी छिन् ।
भीमाको भोलि बुधबार नेरिमास्थित हिकारिगाओका अस्पतालमा मुटुको शल्यक्रिया हुँदै छ । अत्यन्त संबेदनशील मानिने मुटुको लामो शल्यक्रियापछि पनि उनको केही हप्तासम्म सघनकक्षमा रहेर नियमित उपचार गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ । भीमाको हेरचाहका लागि छिट्टै उनको परिवारका सद्स्य जापान आउन लागेको बताईएको छ । ***