काठमाडौं – उपाधि दाबेदारका रूपमा हेरिएका इटाली र स्पेनले फ्रान्समा जारी युरोकप फुटबलमा विजयी सुरुवात गरेका छन् । सोमबार राती भएको खेलमा ईटालीले बलियो प्रतिद्वन्द्वी बेल्जियमलाई २–० ले हरायो ।
ईटालीको जितमा ईम्यानुएल ग्याचेरीनी र ग्रेजियानो पेलाले एक–एक गोल गरे । यहि समूहको अर्को खेलमा आयरल्याण्ड र स्विडेनले १–१ गोलको बराबरी खेले । खेलको ४८ औं मिनेटमा वेस्ले हुलाहानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिए । तर ७१ औं मिनेटमा आयरल्याण्डकै सियारन क्लार्कले एक आत्माघाती गोल गरेपछि स्विडेनले खेल बराबरी गरेको हो । समूह डी को खेलमा स्पेनले चेक रिपब्लिकमाथी १–० को संघर्षपूर्ण जित निकाल्यो ।
स्पेनका लागि जेरार्ड पिकेले ८७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसैबिच युरोकप फुटबलमा आज दुई खेल हुनेछन् । बेलुकी पौने १० बजे हुने खेलमा अष्ट्रिया र हंगेरी भिडनेछन् भने राति पौने १ बजे पोर्चुगलले आईसल्याण्डसँग खेल्नेछ । ***