Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

ke-paaye-ke-gumayeम एकजना भान्से हुँ, अर्थात मलाई भान्से बनाएर जापान ल्याईएको हो । अझ यसो भन्दा ठिक होला, जापान आउनकै लागि म भान्से बनेको हुँ । मजस्तै भान्से बनेर जापान आएका नेपालीहरु धेरै छन् । मान्छे कलाकार, गायक, सर्जक, पत्रकार, वकिल, प्राध्यापक, पण्डित, ज्योतिष जे भए पनि जापान आउनकै लागि भान्से भएर आएका नेपालीहरुको संख्या ठूलो छ । हल्का प्रगति गरेपछि आफुलाई भान्से भन्न नरुचाए पनि हिजो उनीहरु भान्से बनेर आएकोले जापानले पत्याएको हो ।

हो, जापानमा भान्सेको आफ्नै इजत छ, त्यसैले त क्याम्पस पढाउने गुरु होस् या लोकलाई आफ्ना कला र गलाले मोहित बनाउने कलाकार होस् अर्थात दुनियालाई सूचनाको सेवा प्रवाह गरेर सुसूचित गराउने सचेत वर्गमा पर्ने पत्रकार नै किन नहोऊन् उनीहरु जापान आउन भान्से बनेकाहरु धेरै छन् । वास्तविक परिचयले त उनीहरुलाई जापानले भिसा नै दिदैंन । अर्कोतिर भान्सेलाई अरुलाई भन्दा केही सहुलियत र सुबिधा पनि त छ जापानमा । आएको भोलिपल्टै श्रीमती वा श्रीमान ल्याउन दिन्छ । दर्जन नै किन नहोस् (चलाखी गर्नेहरुले) बच्चाबच्चीहरु डिपेन्डेन्टमा ल्याउन सहज छ । जुन अरुको तुलनामा धेरै सहुलियत पक्ष हो । भान्सेलाई जापानले धेरै बिश्वास गरेकै कारण यी सबै संभव भएको हो । उच्च जोखिम मोल्दै करोडौंको लगानीमा रेष्टुरेन्ट खोलेर बल्ल बल्ल बिजनेश भिसा बनाउने बिचरा साहुजीहरुलाई हरेक वर्ष एक-एक वर्षको भिसा दिन्छ, तर उनैको रेष्टुरेन्टमा काम गर्ने भान्सेलाई ड्याम्मै पर्मानेन्ट भिसा (एजुकेन) दिने देश हो जापान । त्यसैले त नढाँटीकन भन्नुपर्दा जापानमा हामी भान्सेहरुको शान र मान अनि चुरीफुरी अर्कै छ । कसैले डाहा गरेर भयो र ?

बर्षौको मिहिनेत र लगानी गरेर यतै उच्च शिक्षा तथा ब्यवसायिक शिक्षा हासिल गरेका विद्यार्थीहरु जापानमा स्थापित हुन कम्तिमा एक दशक लाग्छ । यहाँको भाषा, सँस्कृति, रहनसहन, जापानी समुदायसंगको घुलमिल, उठबस लगायतका दृष्टिले उनीहरु जापानमा गरिखाने हैसियत राख्ने वर्गमा पर्दछन् । हामी भान्सेहरु भाषाको मामिलामा स्वभाविकरुपले कमजोर हुन्छौं । जतिसुकै लामो समय बसे पनि भान्से पृष्ठभूमिका हामी नेपालीहरुको भाषाक्षमता औसतमा कमजोर नै हुन्छ । त्यसमाथि हामी भान्सेहरुलाई भाषा सिक्न प्रोत्साहित हुने खालको वातावरण नै हुँदैन । हातमा डाडु, पन्यू, चक्कू र फ्राईपेनको दुनियाँमा हामी हराईरहेका हुन्छौं वर्षौसम्म । अर्कोतिर सिक्नुपर्छ भन्ने सँस्कार हामीमा असाध्यै कमी छ । दक्षता एवं चेतनाको स्तर बृद्धिका लागि पुस्तक, पत्रपत्रिका अध्ययन गर्ने, आफुभन्दा अग्रज वा विद्वतहरुसंग अन्तरंग गर्ने तथा आफ्नो पेशागत ज्ञान हासिल गर्ने मामिलामा हामी उदासिन छौं । तर यो देश यस्तो देश हो, हामीजस्ता भान्सेहरु एक दशकमै धेरै फड्को मारिसकेका हुन्छौं । धेरैजसो त साहुजी बनिसकेका हुन्छौ र फ्ल्याट लिएर गाडि चढेर हिड्ने भईसकेका हुन्छौ । परिवारका हरेक सदस्यहरु कमाउने भए पछि नहोऊन् पनि कसरी ? मात्र गर्नुपर्छ इमान्दारिताका साथ कडा मिहिनेत र धैर्यता ।

हो, जापान सपनाको देश हो । भनिन्छ, यहाँ पैसा रुखमा फलेझैं फल्छ र कम्प्युटरमा भात पाक्छ । रुटिनमा चलेको समयको फन्को संगै यहाँ नोट छापिन्छ । सिष्टममा सबै चल्छ अनि त देश बनेको छ, यहाँका मान्छेहरुको सोचमा दरिद्रता भेटिंदैन, चेतनाको स्तर उच्चकोटीको छ । श्रमप्रतिको बिश्वास र सम्मान अघोरै उच्च छ त्यसैले त भान्सेमैत्री छ जापान, अनि त हामी भान्सेहरुले चाँडो प्रगति गर्न पाएका छौं । त्यसैले हामी भान्सेहरुले इमान बेच्न हुँदैन, जहाँ हामीले सम्मान पाएका छौं । भावी पुस्तालाई पनि गरिखाने ठाउँ हामीले जोगाईराख्नुपर्दछ, भताभुंग पारेर भत्काउन हुँदैन ।

मलाई लागेको थिएन, जापानमा यतिधेरै अवसरहरु छन् भनेर । आएको ऋण तिरेर गोडा दशेक लाख कमाईयो भने आफ्नै देशमा गएर केही गर्ने सोचका साथ जापान छिरेको पत्तै नपाई १३ वर्ष बितेछ । सँधै कति अरुको मात्रै काम गर्ने भनेर, दुई वर्ष भयो आफै रेष्टुरेन्ट सुरु गरेको छु । हामी बुढाबूढी आफ्नै रेष्टुरेन्टमा स्वरोजगार भएका छौं । काठमाडौंमा एउटा सानोतिनो घर बनाएका छौं । गएको वर्ष जापानको पर्मानेन्ट भिसा (एजुकेन) पनि लिंए । यो वर्ष एउटा फ्ल्याट र गाडि पनि लिएको छु । अहिले हामी सपरिवार जापानमै छौं । उमेर पचासको नजिक नजिक लम्कँदो छ । नेपाल फर्कने योजना अझै ठ्याक्कै बन्न सकेको छैन । हुर्किसकेका छोराछोरीहरु यतै रमाईरहेका छन् । बाल्यकालमा उनीहरु उता, हामी यता भयौं, उनीहरुको बाल्यावस्थामा संगै बस्न नपाएको पछुतोले सँधै मनमा घोचिरहन्छ । बूढेसकालमा छोराछोरी यता, हामी उता हुन मन पनि छैन । हिसाब गर्दा उनीहरुसंग संगै बस्ने दिन खासै धेरै छैन । खोज्न सक्ने हो भने अवसरै अवसर भएको देश रहेछ जापान, इमान्दारीपूर्वकको परिश्रमको अर्को नाम रहेछ जापान । यद्यपि कहिलेकाँही एक्लै हुँदा आफैलाई धेरैपटक सोध्ने गरेको छु, जापानमा मैले के पाएँ, के गुमाएँ ? तर अहिलेसम्म चित्तबुझ्दो उत्तर भेटेको छैन । नेपालमै बसेको भए पनि हातमा दही जमाएर त पक्कै बस्ने थिइँनहोला जस्तो लाग्छ । मेरै हैसियतका साथीहरु राम्रै प्रगति गरेर राजधानीमा इजतका साथ बसिरहेका छन् । कोही सभासद बनेका छन् भने कोही ठेकेदार बनेका छन् त कोही नेता बनेर गरीखाएका छन् । म आज उकुसमुकुस लाग्ने आफैले बनाएको जेल (रेष्टुरेन्ट) भित्र कोचिएको छु । बाहिरको दुनियाँ चियाउने न त म संग एक सेकेण्ड फुर्सद छ, न त यो आफैले बनाएको जेल ब्रेक गरेर खुल्ला संसारमा सयर गर्न सक्छु । म भान्छे भएर आएको एउटा मान्छे ।

श्री लिलाधर बुर्लाकोटी (नाम परिवर्तन) संग कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया