विद्यार्थी डायरी र गोजीपात्रो विमोचित
टोकियो – नेपाल जापान विद्यार्थी समाजले विविध साँस्कृतिक कार्यक्रम सहित आइतवार टोकियोमा प्रथम वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव समारोहको प्रमुख अतिथि जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएन जापानका अध्यक्ष सुदन थापा, एनआरएन सल्लाहकार जिज्ञानकुमार थापा र समाजका अध्यक्ष सन्तोषबाबु चोखालले संयुक्तरुपमा रिबन काटेर उदघाटन गरेका थिए । प्रमुख अतिथिको आसनबाट कार्यबाहक राजदूत राजभण्डारीले प्रथम वार्षिकोत्सवको अवसरमा शुभकामना ब्यक्त गर्दै विद्यार्थीहरुको प्रमुख कर्त्तब्य अध्ययन गर्नु भएकोले विचलित नभई दत्तचित्त भएर आफ्नो पहिलो उद्देश्य पुरा गर्नतिर लाग्नुपर्ने सुझाव दिनुभयो । समारोहमा एनआरएन अध्यक्ष सुदन थापा, सल्लाहकार जिज्ञानकुमार थापा, विद्यार्थी समाजका सल्लाहकार दिपकबाबु नेपाल, एनआरएन आइसीसी सदस्य कपिलदेव थापा, ब्यवसायी बाबुराम भण्डारी, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वार्षिकोत्सव समारोहमा समाजले प्रकाशन गरेको गोजी पात्रो र विद्यार्थी डायरीको प्रमुख अतिथि राजभण्डारी, पत्रकार महासंघ जापानका अध्यक्ष मल्ल र समाजका अध्यक्ष चोखालले संयुक्तरुपमा विमोचन गरेका थिए ।
विद्यार्थी समाजले वार्षिकोत्सवका अवसरमा जापानमै उच्च शिक्षा हासिल गरी बिभिन्न क्षेत्रमा रहेर नेपालको नाम उचो बनाउन योगदान पुर्याउने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान पनि गरेको छ ।
समारोहमा महासचिव चेतन पौडेलले समाजको कार्यप्रगति प्रतिबेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
टोकियो शिनओकुबो स्थित टोकियो रोधी क्लबमा भएको वार्षिकोत्सव समारोहमा बाल कलाकार दिब्य नेपालको नृत्यबाट साँगीतिक कार्यक्रम सुरु गरिएको थियो । यसैगरी कार्यक्रममा स्थानिय कलाकारहरु रामकृष्णबम मल्ल, सूर्य खड्का, विनोद भण्डारी, समुन्द्रराज पौडेल, हास्यकलाकार कुमार श्रेष्ठ ‘फर्सीलाल’, दीपेश श्रेष्ठ, प्रदीप कार्की, केशव शर्मा, संगिता क्षेत्री, सनम शाही लगायतको साँगीतिक तथा अन्य प्रस्तुतीहरु रहेको थियो ।
समाजका अध्यक्ष चोखालको सभापतित्वमा भएका सो वार्षिकोत्सव समारोहको पत्रकार राजन गौतमले सञ्चालन गरेका थिए । ***