काठमाडौँ – २५ सय ६०औँ बुद्धजयन्तीको अवसरमा जेठ ८ गते स्वयम्भु क्षेत्रमा घुम्न आउने पर्यटकलाई प्रवेश निःशुल्क गरीने स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।
सामान्य दिनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कराष्ट्र)का पर्यटकलाई रु ५० तथा अन्य मुलुकका पर्यटकलाई रु २०० लिइँदै आएकोमा बुद्धजयन्तीका दिन पर्यटकलाई समेत प्रवेश शुल्क छुट गर्न लागेको हो । महासमितिको यस निर्णयले त्यहाँ आउने पर्यटक लाभान्वित हुने बताईएको छ ।
महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बौद्ध धर्मावलम्बीका लागि बुद्धजयन्तीको दिन ठूलो उत्सव तथा पवित्र दिन भएको र त्यस क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क छुट गरी उनीहरुलाई बौद्ध दर्शनको महत्वका बारेमा सन्देश दिन खोजिएको जानकारी दिनुभयो ।
महासमितिले मुलुकमा पर्यटक आवागमनको मौसममा विदेशी पर्यटकबाट दैनिक करिब रु एक लाखभन्दा बढी तथा सामान्य अवस्थामा पनि रु ५० हजारको हाराहारीमा रकम सङ्कलन गर्दै आएको छ ।
गत वर्ष वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण स्वयम्भूनाथको चैत्यमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पर्यटकको सङ्ख्यामा कमी आएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले बताउनुभयो ।
तपाईको प्रतिक्रिया