काठमाडौं – संघीय गठबन्धन नेपालको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा र फेटासहित उपस्थित भएका एक बेलायतीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रजिअ रामकृष्ण सुवेदीका अनुसार पक्राउ परेका उनले आफ्नो नाम मार्टिन पेवर भएको बताएका छन् । ती बेलायतीले राहदानी पाटनमा आफू बस्ने ठाउँमा भएको बताएकाले थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
केही दिनअघि नेपालका सम्बन्धमा अनावश्यक टिप्पणी गरेको भन्दै क्यानाडेली रोवर्ट पेनरलाई अध्यागमन विभागले प्रवेशाज्ञा खारेज गर्दै दुई दिनभित्र देश छोड्न निर्देशन दिएको थियो । सोही आधारमा ती नागरिकले नेपाल छाडेका थिए ।
सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलमा २९ दलीय सङ्घीय गठबन्धनले आयोजना गरेको आन्दोलनमा युरोपेली मुलुकका जस्ता देखिने केही विदेशी समेत सहभागी रहेको भेटिएको थियो ।
आन्दोलनमा सहभागी विदेशीलाई कारबाही
संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रममा झन्डा, ब्यानर र फेटासहित उपस्थित भएका विदेशीलाई सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले आइतबार र सोमबार आन्दोलनका क्रममा केही विदेशीको समेत संलग्नता भएको सूचनाका आधारमा मन्त्रालयले अनुसन्धान अगाडि बढाएकोे जानकारी दिनुभयो ।