काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा जनताले समर्थन नगरेपछि आन्दोलनरत दल काठमाडौँ छिरेको बताउनुभएको छ ।
तेइसौँ मदन–आश्रित स्मृति दिवसका असरमा आज राजधानीमा नेकपा (एमाले) ले आयोजना गरेको प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत तथा विधि र प्रक्रियाबाट निर्णय हुने भएकाले त्यस बाटामा आउन आग्रह गर्नुभयो ।
एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालीले भनेको नमान्ने, कसले भनेको मान्ने हो ? केटाकेटी जिद्दी गर्ने ? सिंहदरबार अगाडि ट्राफिक जाम हुने गरी जनतालाई दुःख दिन गरिएको धर्नालाई सरकार टुलुटुलु हेरेर बस्दैन । लोकतन्त्रमा कानुनको राज हुन्छ । तोडफोड र हिंसा नगर्नुस्, आन्दोलन रोकेर वार्तामा आउनुस्, बरु जनताको सेवा गर्ने हो भने पुनःनिर्माणका लागि स्वयम्सेवा गर्नुस् ।”
प्रधानमन्त्री ओलीले जननेता मदनकुमार भण्डारीले प्रतिवादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को आलोकमा नेपालको वर्तमान कम्युनिस्ट आन्दोलन र सरकार अघि बढेकाले आसन्न बजेट मार्फत मुलुकलाई तीव्र आर्थिक विकासको बाटामा लगरै छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले सरकार बन्न नदिनेले सरकार ढाल्न आफ्नो घाँटीसम्म हात ल्याए पनि त्यसलाई पराजित गरिएको बताउनुभयो ।
चन्द्रशमशेरकै पालादेखि नेपालमा रेल ल्याउन सर्भेक्षण गर्न खोज्दा पनि विरोध भएको उल्लेख गर्दै उहाँले अहिले आफूले केरूङ–काठमाडौँ रेल ल्याएरै छाड्ने घोषणा गर्नुभयो ।