टोकियो – प्रवासी नेपाली मञ्च (ONF) जापानले यहि आउँदो मे १ तारिखका दिन टोकियोमा बिश्व मई दिवस मनाउने भएको छ ।
नेकपा एमालेको जापानस्थित भात्तृ संगठन प्रबासी नेपाली मञ्च (ONF) ले आउँदो मे १ तारिख आइतबार एक समारोहको आयोजना गरी मई दिवस मनाउने भएको हो ।
बिश्वभरीका मजदूरहरुको आन्दोलन र बिजयमा ऐक्यबद्दता जनाउन मे १ लाई बिश्वभरि मई दिवस मनाईने चलन अनुसार बिगतका बर्षहरुमा पनि मई दिवस मनाउँदै आएको मञ्चका सचिब तथा प्रचार बिभाग प्रमुख राजेन्द्र श्रेष्ठले समुद्रपारिलाई बताउनुभयो ।
टोकियोको इकेगामी हलमा हुने यस वर्षको मई दिवस समारोहमा नेकपा एमालेका केन्द्रिय सचिव तथा संगठन बिभाग प्रमुख एवं पूर्व पर्यटन मन्त्री पृथ्बी सुब्बा गुरुङको प्रमुख अतिथ्यता र नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य तथा पूर्वी र दक्षिण एशिया क्षेत्रका इञ्चार्ज राजन राईको विशेष उपस्थिति रहने भएको छ । सो अवसरमा मुलुकको समसामयिक राजनैतिक अवस्थाका बारेमा अन्तर्क्रिया गरिने भएको छ ।
उक्त दिनको दिउँसो १२ बजेबाट टोकियो इकेगामी हलमा हुने सो कार्यक्रममा मञ्चले नेकपा एमालेका कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत जापानबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिका लागि अपिल गरेको छ ।***