काठमाडौँ- सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा (एमाले) र अन्य दलका तर्फबाट आजै थप मन्त्री नियुक्ति गर्ने बताइए पनि अन्य दलसँगको छलफल बाँकी रहेकाले विस्तार हुन सकेन ।
एमाले स्थायी समितिको मङ्गलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको थियो ।
एमाले स्थायी समितिका सदस्य शङ्कर पोखरेलले गठबन्धनमा सहभागी दलका नेतासँगको छलफल सकिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो ।
एमाओवादीले पाउने मन्त्रालयमा मन्त्री नियुक्ति भइसके पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त) लगायत दललाई दिइने मन्त्रालय र ती दलबाट आउने नामसहितका आधारमा मन्त्रिमण्डल विस्तार हुनेछ ।