काठमाडौँ- आगामी मङ्सिर ११ गतेदेखि पूर्वाञ्चलमा हुने तय भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता घोषित मितिमा नहुने भएको छ ।
समयमै बजेट निकासा नभएको, तराई मधेसमा जारी आन्दोलन र भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण निर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताउनु भयो ।
“अहिले खेलकुद मन्त्री नियुक्त हुनुभएको छैन त्यसैले बोर्ड बैठकबाट आधिकारिक निर्णय गर्न सकिएको छैन, तर निर्धारित समयमा प्रतियोगिता हुँदैन”उहाँले भन्नुभयो ।
नयाँ मन्त्री नियुक्त भएपछि प्रतियोगिताको नयाँ मिति तय गरिने उहाँको भनाइ छ । उहाँका अनुसार तराई मधेसमा जारी आन्दोलन र नाकाबन्दी तत्काल हटे आगामी पुस र मधेस बन्द रहीरहे फागुनसम्ममा प्रतियोगिता सम्पन्न गरिने उहाँले उल्लेख गर्नु भयो ।
यसअघि मङ्गलबार विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीहरुसँग भएको छलफलका क्रममा राखेपलाई अधिकांशले मुलुकको विभिन्न भागमा जारी बन्द, हड्ताललगायतका प्रतिकुल अवस्थामा सातौँ राष्ट्रिय खेलकुदको मिति सार्न सुझाव दिएका थिए ।
छलफलमा बक्सिङ, सुटिङ, पौडी, जुडो, भलिबल, ह्यान्डबल, बास्केटबल, फुटबल, लनटेनिस, हक्की, कुस्ती, आर्चरी, टेबलटेनिस, स्क्वास, भारोत्तोलन, ट्रयाथलन, ब्याडमिन्टन, खोखो, कबड्डी, एथलेटिक्स, उसुलगायतका सङ्घका अध्यक्ष÷प्रतिनिधिको उपस्थिति थियो ।